प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज आइतबार बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ । यसअघि गत २९ साउनमा संसद बैठक बसेको थियो तर बैठक अवरुद्ध भएपछि स्थगित भएको थियो ।

सुन तस्करीको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठक अवरोध गर्दै आएको छ । गत १० साउनदेखि संसद बैठक अवरुद्ध र स्थगित हुँदै आएको हो ।

सुन तस्करी प्रकरणको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै एमालेले संसद बैठक अवरोध गर्दै आएको हो ।

राजस्व अनुसन्धान विभागले गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक शु’मा हालेर ल्याइएको ६० किलो सुन बरामद गरेको थियो । विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको सुन विभागको टोलीले बरामद गरेको थियो ।

यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अवरूद्व हुँदै आएको संघीय संसद आइतबारबाट संचालनमा आउने बताएका छन् ।

शनिबार प्रधानमन्त्री प्रचण्डले संसद अवरोध खुलाउनका लागि आफूले सभामुखसहित प्रमुख प्रतिपक्ष दल एमालेका नेता केपी शर्मा ओलीसँग छलफल अघि बढाएको बताउँदै आइतबारबाट संसद चल्ने बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here