सातौँ जीईएफ सभामा भाग लिन अर्थमन्त्री महत क्यानडा प्रस्थान, गैरआवासीय नेपालीसँग पनि भेट्दै

`
काठमाडौं । क्यानडामा आयोजना हुने ग्लोबल इनभ्यारोमेन्ट फेसिलिटी (जीईएफ)को सातौँ सभामा भाग लिन अर्थमन्त्री डा. प्रकाशशरण महत नेपालको पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै क्यानडा प्रस्थान गरेका छन् ।

उनी आइबार साँझ ९.३० बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट क्यानडातर्फ लागेका हुन् । अर्थमन्त्रीसँगै अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख उत्तरकुमार खत्री र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि क्यानडा गएका छन् ।
यस्तै वन तथा वातावरण मन्त्रालयका उपसचिव ज्ञानेन्द्रकुमार मिश्र र अर्थ मन्त्रालयकै उपसचिव तथा अर्थमन्त्रीका निजी सचिव युगराज पाण्डे पनि टोलीमा छन् ।

अर्थमन्त्री डा.महतले उक्त सभामा भाइस–प्रेजिडेन्टका रुपमा सहभागिता जनाउने अर्थ मन्त्रालयले जानकारी दिएको छ । जीईएफ एसेम्बली प्रत्येक चार वर्षमा आयोजना हुने गरेको छ । उक्त सम्मेलमा विश्वभरका १ सय ८५ देशको सहभागिता रहने बताइएको छ ।

अर्थमन्त्री डा. महत करिब एक साता क्यानडामा रहनेछन् । त्यहाँ उनले गैर–आवसीय नेपाली र अन्य दातृ निकायहरुसँग भेटघाट गर्नेछन् । उनीहरुसँग नेपालमा लगानी भित्र्याउने विषयमा मन्त्री महतले छलफल गर्ने कार्यक्रम तय भएको छ ।

यस्तै अर्थमन्त्री महतले यसैक्रममा विदेशी लगानीकर्ताहरुसँग समेत नेपालमा लगानी भित्र्याउनका लागि साइड बैठक गर्ने कार्यक्रम तय भएको छ । उक्त सम्मेलनमा भाग लिएर नेपाली प्रतिनिधिमण्डल भदौ ११ गते स्वदेश फर्किने छ ।

सम्बन्धित थपः
‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’
अर्थमन्त्री भन्छन् -‘देशमै अथाहा अवसर छ केही गरौ, देशबाहिर सुनको श्रीलंका छैन’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here