यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा नेपाल नजिक सर्ने क्रममा छ। जल तथा मौसम पूर्वानुमान् महाशाखाका अनुसार अहिले उक्त रेखा सरदर स्थानमा अवस्थित छ।

मनसुनको न्यूनचापीय रेखा र न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण आज बिहान देशभरको मौसम आंशिकदेखि सामान्य बदली रही सातै प्रदेशमा पानी परिरहेको छ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो सबै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा कोशी, बागमती, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

यस्तै राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले आगामी २४ घण्टा (मंगलबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ– सबै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेकाले यी क्षेत्रमा नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here