साउन महिनामै व्यापार घाटा १ खर्ब १५ अर्ब,आयात–निर्यात दुवै घट्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो साउनमै १ खर्ब रुपैयाँ बढी व्यापार घाटा पुगेको छ । भन्सार विभागका अनुसार साउनमा १ खर्ब ४२ अर्ब रुपैयाँको कुल वैदेशिक व्यापार हुँदा १ खर्ब १५ अर्ब रुपैयाँ नेपालले घाटा बेहोरेको छ ।

गत वर्षको सोही अवधिमा १ खर्ब १६ अर्ब रुपैयाँ व्यापार घाटा पुगेको थियो । आयात १.५६ प्रतिशत र नियात ८.६५ प्रतिशतले घटेको विभागले जनाएको छ ।

गत वर्ष पहिलो साउनमा १४ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात गरेको नेपालले यो वर्ष १३ अर्बमा खस्किएको छ । गत वर्ष १ खर्ब ३१ अर्बको वस्तु आयात गरिएकोमा समीक्षा अवधिमा १ खर्ब २९ अर्ब रुपैयाँ बराबरको सामग्री आयात भएको छ ।

भन्सार विभागका अनुसार साउनमा पेट्रोलियम पदार्थको आयातमै ठूलो गिरावट देखिएको छ । यस आवमा २१ अर्ब ९८ करोड रुपैयाँको पेट्रोलियम पदार्थको आयात भएको छ । गत आवको साउनमा पेट्रोलियम पदार्थको आयात २५ अर्ब रुपैयाँको भएको थियो ।

आइरन र स्टीलको आयात १२ अर्ब ९५ करोड रुपैयाँको भएको छ । यस आवमा आइरन र स्टीलको आयात सुधार भएको छ । साउन २०७९ मा ११ अर्ब २३ करोड रुपैयाँको आयात भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here