काठमाडौं । बारामा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। काठमाडौंबाट जनकपुरतर्फ गइरहेको प्रदेश ०३–००१ ख ७९९४ नम्बरको बस बिहीबार बिहान २:३० बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२, चुरियामाइ मन्दिर नजिक दुर्घटनामा परेको हो।
दुर्घटनामा ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ। १७ जना यात्रु घाइते भएका छन्। बस सडकको दायाँ साइडमा करिब १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
मृत्यु हुनेमा महोत्तरीको लोहरपट्टी नगरपालिका बस्ने ४१ वर्षीय विजयलाल पण्डित, भारतको राजस्थान घर भएका ६७ वर्षीय बहादुर सिंह, भारत राजस्थानकै ६५ वर्षीया मिरा देवी छन्। ज्यान गुमाउनेमध्ये ३ जना महिला र १ जना पुरुषको पहिचान खुलेको छैन।
घाइते हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका घर भएका ३८ वर्षीय बिहारी मुखिया, धनुषाको जनकपुर घर भएका ४१ वर्षीय धुरन मण्डल, महोत्तरीको लोहरपट्टी घर भएका २६ वर्षीय जसबेन्द्र पासवान छन्। यस्तै, भारतको राजस्थान बस्ने ४८ वर्षीय घनश्याम चतुर्वेदी, ५३ वर्षीया माया देबी, ३५ वर्षीय अनिल कुमार, ५० वर्षीया तारादेवी चतर्वेदी, ९ वर्षीया क्रितिका चतुर्वेदी, ४८ वर्षीय श्याम लाल माली, ४७ वर्षीय हरवारी माली, ७० वर्षीया चौथी देवी, ७२ वर्षीय सुरेशचन्द्र चक्रवर्ती, ७३ वर्षीय राम प्रसाद घाइते भएका छन्। भारत राजस्थान नै घर भएका ६३ वर्षीय धरम सिंह, ६० वर्षीया इन्दु धाकद, १६ वर्षीया गर्विदा चतुर्वेदी र ५४ वर्षीय राम कुमार चतुर्वेदी छन्।
बसमा सवारमध्ये धेरै जना भारतीय तीर्थयात्री थिए। उनीहरु पशुपतिनाथको दर्शन गरेर काठमाडौंबाट फर्किरहेका थिए। बस चालक र सह-चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।