थपियो ३ हजार ११८ सर्किट किमी प्रसारण लाइन, २ हजार ८५२ किमी निर्माणाधीन

काठमाडौं । बिजुलीको सहज प्रसारण तथा वितरणका लागि सरकारले प्रमुख प्राथमिकताका साथ प्रसारण लाइन निर्माण अगाडि बढाएको छ । आन्तरिक तथा बाह्य रुपमासमेत सहज बिजुली प्रवाहका लागि प्रसारण महासञ्जाल निर्माणमा सरकारले गरेको लगानीको प्रतिफलसमेत क्रमशः देखिन थालेको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रसारण लाइन निर्माणलाई महत्वका साथ अगाडि बढाएको जनाएको छ । कार्यान्वयन गर्ने निकायका रुपमा रहेको नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन निर्माणलाई प्राथमिकतामा राखेको जनाएको छ । नेपालको विद्युत् प्रसारण प्रणालीमा विगत ९ वर्षमा ३ हजार ११८ किलोमिटर सर्किट प्रसारण लाइन थपिएको प्राधिकरणको भनाइ छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले प्रसारण लाइन निर्माणलाई तीव्रगतिमा अगाडि बढाउन र त्यसमा देखिएका समस्या समाधानका लागि प्रभावकारी रुपमा क्रियाशील हुन प्राधिकरण र सम्वद्ध निकायलाई निर्देशन दिएका छन् । लोडसेडिङको अन्त्यपछि विद्युतीकरण र उपभोक्तालाई पर्याप्त, भरपर्दो, गुणस्तरीय तथा सुरक्षित विद्युत् आपूर्तिलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको प्राधिकरणले प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार र सुधारलाई व्यापक रुपमा अगाडि बढाएको छ ।

प्राधिकरणले प्रसारण र आयोजना व्यवस्थापन निर्देशनालयमार्फत प्रसारण लाइन तथा सबस्टेसन आयोजना निर्माण गरिरहेको छ । विद्युत्गृहबाट उत्पादित विद्युत् ग्राहकको घरसम्म पुर्याउन प्रसारण तथा वितरण लाइन र सबस्टेसन आवश्यक पर्दछ ।

विगत ९ वर्षमा ग्रीड सबस्टेसनको क्षमता ८ हजार ८६७ एमभीए पुगेको छ । ९ वर्षअघि अर्थात् आर्थिक वर्ष २०७१/७२ मा सबस्टेसनको क्षमता २ हजार १३२ एमभीए मात्र रहेकोमा आव २०७९/८० मा आइपुग्दा सबस्टेसनको क्षमता छ हजार ७३५ एमभीए बढेको हो ।

आव २०७१/७२ मा ६६ र १३२ केभीबाट मात्र विद्युत् प्रसारण भइरहेकोमा अहिले ६६, १३२, २२० र ४०० केभी लाइन सञ्चालनमा छन् । आव २०७१/७२ मा २ हजार ६२४ सर्किट किलोमिटर प्रसारण लाइनमा रहेकोमा हाल ३ हजार ११८ सर्किट किलोमिटर थपिएर आव २०७९/८० मा ५ हजार ७४२ सर्किट किलोमिटर पुगेको छ ।

आव २०७२/७३ सम्म ६६ र १३२ केभी लाइन मात्र प्रसारण लाइन रहेकोमा आव २०७३/७४ बाट २२० र ४०० केभी प्रसारण लाइन सञ्चालनमा आएका हुन् । अहिले प्रणालीमा ६६ र १३२ केभी प्रसारण लाइनको लम्बाइ क्रमशः ५१४ र ३ हजार ९७९ सर्किट किलोमिटर छ ।

यसैगरी, २२० र ४०० केभी प्रसारण लाइनको लम्बाइ क्रमशस् १ हजार ११ र १४८ सर्किट किलोमिटर छ । आव २०७५/७६ मा सबैभन्दा बढी अर्थात छछ सर्किट किलोमिटर प्रसारण लाइन थपिएको छ भने आव २०७४/७५ मा सबैभन्दा कम १४१ सर्किट किलोमिटर लाइन थपिएको छ । गत आवमा ४१३ किलोमिटर सर्किट किलोमिटर प्रसारण लाइन प्रणालीमा थपिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here