तीजमा पशुपतिनाथ दर्शन, कसरी हुँदैछ व्यवस्थापन ?

फाइलफोटो

काठमाडौं, १५ साउन । नेपाली हिन्दु महिलाको महान चाड तीज, सोमबार परेको यस वर्षको तीजमा पनि लाखौं महिला भक्तजन पशुपतिनाथको दर्शनका लागि पुग्ने अनुमान गरिएको छ ।

पशुपतिमा दर्शनार्थीको सहजार्थ व्यवस्थापनको काम सम्पन्न भइसकेको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ । कोषका अनुसार पशुपतिनाथको पूर्वी ढोकासमेत खुला गरेर भक्तजनलाई दर्शनको व्यवस्था गरिनेछ ।

पूर्वी ढोका सामान्यतया खोलिदैन । जसले गर्दा पशुपतिमा लामो समय लाइन लाग्नु परेको भन्दै गुनासो आउने गरेको छ । सोमबार भाद्र शुक्ल तृतीयाका दिन पशुपति मन्दिर प्रवेशका लागि मुख्य रूपमा तीन स्थानबाट लाइन लाग्न सकिने भएको छ ।

कोषका अनुसार एउटा लाइन गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै पश्चिम ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्नेछ । अर्को लाइन जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठ हुँदै पश्चिम ढोकाबाट प्रवेश गर्नेछ ।

अर्को लाइन भने एयरपोर्ट–पिङ्गलास्थान–चार शिवालय हुँदै दक्षिण ढोकाबाट प्रवेश गर्ने व्यवस्था मिलाइएको कोषले उल्लेख गरेको छ । वैकल्पिक रुपमा पूर्वी ढोकासमेत खोलिदा धेरै समय लाइनमा बस्न नपर्ने विश्वास कोषको छ ।

नेपाल प्रहरीले मेला अवधिभर पशुपति क्षेत्रमा सादा पोशाकमा प्रहरी खटाएको छ । पशुपति क्षेत्रमा मात्र चार हजार सुरक्षाकर्मी खटिएको कोषको भनाई छ ।

तीजमा महिलाहरु गरगहना लगाएर आउने र लूटपाटको घटना हुने भन्दै यस पर्वमा बढी शतर्कता अपनाउने गरिन्छ । मन्दिर र भीडभाड हुने क्षेत्रमा गरगहना नलगाई आउनसमेत कोषले सर्वसाधारणलाई आह्वान गरेको छ ।

सवारी साधन लिएर पशुपतिनाथ दर्शनमा जाने भक्तजनका लागि सवारी पार्किङ गुह्येश्वरी पारि, सिफलचौर, तिलगङ्गा र कोषको कार्यालय परिसरमा व्यवस्था गरिएको छ ।

सरकारी नम्बरप्लेटका सवारीलाई कोष कार्यालयमा व्यवस्था गरिएको कोषले जनाएको छ । जुत्ता चप्पल भने वरुणधारा, कैलाशडाँडामुनि, कोषको कार्यालय, भुवनेश्वरीलगायत स्थानमा व्यवस्था गरिएको छ ।

नाचगान एवं भक्ति सङ्गीत प्रस्तुतिका लागि हंसमण्डप, वनकाली, गौशाला, जयवागेश्वरी, मित्रपार्क तोकिएको छ ।

सुरक्षाकर्मी र स्वयंसेवकको सहयोगमा पशुपति क्षेत्रमा पर्ने चक्रपथ सडक बन्द नगर्ने गरी व्यवस्थापन गर्न लागिएको पनि कोषले जनाएको छ । कोषले भदौ १६ गते बिहान ६ बजेअघि नै पशुपतिका नित्य दर्शनार्थीलाई दर्शन गरिसक्न पनि आह्वान गरेको छ ।

६ बजेपछि महिला भक्तजनको भीड बढी हुने भएकाले पुरुष दर्शनार्थीलाई यस्तो आह्वान गरिएको हो ।

तीजका अवसरमा भदौ १६ गते बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खोलिनेछ । तीजको मेला लागि पशुपतिमा सबै तयारी पूरा भइसकेको कोषले जनाएको छ ।

राससको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here