एमाले लुम्बिनी प्रदेश कमिटीमा विष्णु पौडेल पक्षको हाबी, शंकर पोखरेल गुटलाई झड्का

काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीमा सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि विष्णु पौडेल पक्षको हाबी देखिएको छ ।

अध्यक्षमा पाल्पाका राधाकृष्ण कंडेल विजयी भएका छन् ।पदाधिकारीमा एक उपसचिवबाहेक अरु सबै विष्णु पौडेल पक्षका कंडेल प्यानलकै उम्मेदवारहरु विजयी भएका हुन् ।

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बुधबार बिहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार अध्यक्षका अर्का उम्मेदवार प्युठानका हरि रिजाललाई २ मतले पछि पार्दै कंडेल विजयी भए ।
विजयी कंडेलले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७ मत प्राप्त गरे ।

अध्यक्षमा विजयी कंडेल एमाले उपाध्यक्ष विष्णु पौडेल निकट हुन् भने रिजाल महासचिव शंकर पोखरेल निकटका हुन् ।

उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ निर्वाचित भएका छन्। उनले ४५५ मत ल्याए। श्रेष्ठका प्रतिस्पर्धी विश्वराज बरालले ३०६ मत ल्याए।

उपसचिव पुरुषमा ४२८ मत ल्याएर रोल्पाका पूर्ण बुढा मगर विजयी भएका छन्। उनका प्रतिस्पर्धी बाँकेका दुर्गाप्रसाद थारु चौधरीले ३९३ मत ल्याए। बुढामगर भने अध्यक्षमा पराजित रिजाल प्यानलका हुन्।

उपचसिव महिलामा बर्दियाकी लिला राना मगर ३५२ मत ल्याएर विजयी भएकी छन्। उनका प्रतिस्पर्धी बाँकेकी बस्नती अधिकारीले ३५१ र बाँकेकै आरती पौडेलले २२१ मत ल्याइन्।

सचिवमा भने लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भइसकेका छन्। सचिवसहित भूगोलतर्फ १२मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका हुन्। भूगोलतर्फ बाँके, दाङ, गुल्मी र रुपन्देही गरी ४ जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको थियो।

एमाले अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी प्रदेश कमिटीको नेतृत्व सहमतिका आधारमा चयन गर्न जोड दिए पनि पौडेल र पोखरेल गुटबीच ‘प्रतिष्ठाको लडाइँ’ भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here