बालोन डी’ओरको सर्टलिस्टमै परेनन् रोनाल्डो, मेस्सी मुख्य दाबेदार

काठमाडौं । यस वर्षको बालोन डी’ओर अवार्डका लागि खेलाडीहरुको सर्ट लिस्ट सार्वजनिक गरिएको छ । आयोजक फ्रान्स फुटबल म्यागजिन मनोनयनमा परेका पुरुष तथा महिला खेलाडीहरुको नाम सार्वजनिक गरेको हो।

उक्त सूचीमा स्टार खेलाडीहरु समावेश हुँदा क्रिस्टियानो रोनाल्डो भने अटाएनन् । युरोपियन लिग खेल्ने खेलाडीहरुको बाहुल्य रहेको सूचीमा अमेरिकन क्लब गएका अर्जेन्टिनाका विश्वकप विजेता लिओनल मेस्सी मुख्य दाबेदारको रुपमा छन् ।

मेस्सीले अर्जेन्टिनालाई सन् १९८६ पछि पहिलो पटक गत डिसेम्बरमा कतारमा सम्पन्न विश्वकपको उपाधि जिताएका थिए। पाँच पटक अवार्ड विजेता पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो २० वर्षपछि पहिलो पटक मनोनयनमा पर्न सकेनन्।​

रोनाल्डोको बालोन डी’ओर सर्टलिस्टमा नाम नपरेको सन् २००३ पछि यो पहिलो पटक हो। यूइएफए वर्ष खेलाडी विजेता म्यानचेस्टर सिटीका स्ट्राइकर एर्लिङ हालान्ड र पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड केलियन एमबाप्पे पनि सर्ट लिस्टमा परेका छन्।​

ट्रेबल विजेता म्यानचेस्टर सिटीबाट कीर्तिमानी गोलकर्ता हालान्डसहित केभिन डे ब्रुइन, रुबेन डायस, विश्वकप विजेता जुलियन अल्भारेज, बर्नार्डो सिल्भा, रोड्री र जोस्को ग्वार्डियोल मनोनयनमा परेका छन्। यो वर्षको बालोन डी’ओर अवार्ड अक्टोबर ३० मा प्रदान गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here