गगन थापाले सोधे-‘के हामीले काठमाडौं एक्लै हिँड्न नमिल्ने भएको हो’ ?

काठमाडौं । प्रतिनिधिसभा सदस्य गगन थापाले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्नेलाई कडा कारबाहीको माग गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस घटनालाई सामसुम पार्ने कोसिस भइरहेको भन्दै यस विषयको गहिरो अनुसन्धान गर्न माग गरेका हुन् ।

‘एउटा सन्काहा सन्केर हान्यो भनेर एउटा भाष्य निर्माण हुँदैछ, यसलाई थामथुम पर्ने, सामसुम पार्ने कोसिस हुँदैछ । म सरकारलाई सचेत र सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, यो विषयमा गहिरो अनुसन्धान होस्, योसँग जोडिएका सबै पक्ष पनि उजागर होस्,’ थापाले भने ।

उनले यो घटनासँगै जोडिएका अन्य पक्षहरुको पनि उजागर गर्नका लागि माग गरेका छन् । उनले गृहमन्त्रीलाई समेत प्रश्न गर्दै भने, ‘के हामीले काठमाडौँमा एक्लै हिँड्न नमिल्ने भएको हो ? कोही जलाइदिन्छु भन्छ, कोही खुकुरी हान्छ । हामी एक्लै हिँड्न हुने हो कि नहुने हो ?’

महामन्त्री थापाले ठाउँ ठाउँमा प्रधानमन्त्री र गृहमन्त्रीले बोलेको सुनेको भन्दै गम्भीर भएर भने, ‘यसलाई छाडिने छैन, यस्तो गरिने छ, म आग्रह गर्न चाहन्छु जिम्मा लिएकोले धेरै बोल्ने होइन गर्ने हो । हामीले परिणाममा हेर्न चाहन्छौँ । हामीले परिणाममा देख्यौँ भने त्यसको मूल्यांकन गर्ने संसद छ, नागरिक छ ।’

उनले सोधे, ‘प्रतिनिधि सभा सदस्य नै काठमाडौँमा सुरक्षित हुँदैन भने प्रधानमन्त्रीलाई गृहमन्त्रीलाई यो विषयले पोल्नु पर्छ कि पर्दैन ?’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here