काठमाडौं । ललितपुर र काठमाडौंका विभिन्न स्थामा आजदेखि ३ दिनसम्म विद्युत आपूर्ति प्रभावित हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरणले सार्वजनिक सूचनामार्फत् बिजुली जानसक्ने क्षेत्रहरूको जानकारी गराएको हो ।
स्यूचाटार-टेकु, स्यूचाटार-पाटन तथा स्यूचाटार-केथ्री ६६ केभी प्रसारण लाइन सटडाउन गरिने भएकाले शुक्रबार बिहानदेखि सोमबार बिहानसम्मै विभिन्न स्थानमा बत्ती जाने प्राधिकरणले जनाएको छ ।
त्यसका लागि ६६ केभी स्युचाटार-टेकु लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म सटडाउन गर्नुपर्ने प्राधिकरणले जनाएको छ।
त्यस्तै ६६ केभी स्युचाटार-पाटन प्रसारण लाइन शनिबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म र ६६ केभी स्युचाटार-के३ लाइन शनिबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म सटडाउन गरिने प्राधिकरणले जनाएको छ।
तीन वटा प्रसारण लाइन सटडाउन गर्दा काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रहरूमा विद्युत् प्रभावित हुने भएको छ। ६६ केभी स्युचाटार-टेकु प्रसारण लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म तीन दिन अवरूद्ध हुने भएको छ।
यसबाट कुलेश्वर वितरण केन्द्र अन्तर्गत रिङ मेन, ताहाचल, चमती फिडर र पुल्चोक वितरण केन्द्र अन्तर्गत ६६ के.भी. पुल्चोक, बागमती, रिङ रोड, भैंसेपाटी फिडर साथै टेकू सबस्टेसन, के३ सबस्टेसन तथा सोसँग सम्बन्धित स्विचिङ स्टेसनहरू (थापाथली, सुन्धारा र के२) बाट आपूर्ति भइरहेको रत्नपार्क वितरण केन्द्रअन्तर्गत पर्ने फिडरहरू प्रभावित हुने तथा पिक लोडको बेला केही समय विद्युत कटौती हुन सक्नेछ ।
प्राधिकरणले वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्ति कम प्रभावित / बन्द हुनेगरी नियमित आपूर्ति गर्ने प्रयास गर्ने र निर्धारित समयअघि कार्य सम्पन्न भएमा प्रभावित लाइन सुचारु गरिने जानकारी दिएको छ।