शिक्षा विधेयकको विरुद्ध शिक्षक महासंघ, देशभरका विद्यालय बन्द गर्ने घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सदनमा दर्ता भएको शिक्षा विधेयकलाई लिएर सडक आन्दोलनको घोषणा गरेको छ ।

महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संसदमा दर्ता भएको ‘विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ शिक्षकहरूको हकहितविपरीत भएको भन्दै सडक आन्दोलनको घोषणा गरेको हो ।

महासंघले आगामी असोज ३ गतेबाट देशभरीका विद्यालय बन्द गरी काठमाडौं केन्द्रीत आन्दोलन गर्ने जनाएको छ ।

शिक्षा विधेयकले अस्थायी प्रकृतिका शिक्षकहरुको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षा शिक्षकहरुको सवाल, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कनलगायतका विषयमा सम्बोधन गर्न नसकेको महासंघको अरोप छ ।

नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारी नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले घोषणा गरेको आन्दोलनमा ऐक्यवद्धता व्यक्त गरे । उनले नेपाल शिक्षक महासंघले घोषणा गरेको आन्दोलनमा सहभागी हुनका लागि आह्वान गरे । जायज मुद्दा सरकारले सम्बोधन गरेपछि मात्रै आन्दोलन अन्त्य गर्ने उनको दाबी छ ।

संस्थागत विद्यालय युनियनका अध्यक्ष होमकुमार थापाले आफूहरु बाध्य भएर असोज ३ गतेदेखि विद्यालय नै बन्द गरेर आन्दोलनमा जान लागेको बताए । विद्यालय बन्द हुन हुँदैन, विद्यार्थीको पढाइमा कुनै किसिमको असर पर्न हुँदैन भन्ने हेक्का हुँदाहुँदै पनि बालबालिकाको भविष्य बनाउने कुरामा जोडिएका शिक्षकहरुमाथि विधेयकले विभेद गरेको उनको आरोप छ ।

उनले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहप्रति लक्षित गर्दै शिक्षकको आन्दोलनमा स्थानीय तहले चोर औंला नउठाउन चेतावनी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here