नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत पुग्ने एडीबीको प्रक्षेपण

काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

सरकारले ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखे पनि एडीबीले ४.३ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरेको हो । गत आर्थिक वर्षमा १.९ प्रतिशत आर्थिक वृद्धिदर रहेकोमा चालु आर्थिक वर्षमा सुधार हुने एडीबीले प्रक्षेपण गरेको हो ।

पछिल्लो समय अर्थतन्त्रमा सुधारको संकेत देखिँदै गएकाले आर्थिक वृद्धि बढ्ने एडीबीको प्रक्षेपण छ । चालु वर्षमा सेवा क्षेत्र, रियल इस्टेट गतिविधि बढ्ने अपेक्षा एडीबीले गरेको छ।

यस्तै, मूल्य वृद्धि पनि केही नियन्त्रण हुने एडीबीको अनुमान गछ । गत आर्थिक वर्षमा ७.७ प्रतिशत रहेको मुद्रास्फीति चालु आर्थिक वर्षमा भने केही नियन्त्रण भई ६.२ प्रतिशत हुने एशियाली विकास बैंकले अनुमान गरेको छ । सरकारले चालु आवमा मुद्रास्फीति ६.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेको छ ।

एडीबीले चालु आर्थिक वर्षमा सरकारको चालु खाता भने गत वर्षको तुलनामा केही बढ्ने प्रक्षेपण सार्वजनिक गरेको हो । गत आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनको १.४ प्रतिशत घाटामा रहेको चालु खाता चालु आवमा १.८ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here