शिक्षक आन्दोलन: कोर एरियामा दिनभर ट्राफिक जाम, सडक छेउका बिरुवा र दूबो सखाप

काठमाडौं । काठमाडौंमा जारी शिक्षक आन्दोलनको दोस्रो दिन निषेधित क्षेत्र तोड्न पुगेका शिक्षकलाई सम्हाल्न सुरक्षाकर्मीलाई हम्मे हम्मे नै परेको थियो ।

आन्दोलनकारीले प्रहरीका लाठी खोस्ने, बोतलले प्रहार गर्ने, डिभाइडर फ्याँक्ने, सडक छेउका रुखका हाँगा भाँचेर प्रहार गर्नेजस्ता गतिविधि देखाए । सो क्रममा नयाँ बानेश्वर क्षेत्रका रुखबिरुवा र दूबोमा क्षति पुगेको छ । बालबालिकालाई बोटविरुवाको संरक्षण गर्नु पर्छ भनेर सिकाउनु पर्ने गुरुहरुले नै बोटविरुवामा क्षति गरेका छन् ।

काठमाडौंमहानगरपालिकाको वातावरण विभागले यो खण्डको हरियाली संरक्षण गर्दै आएको छ । तर बेला बेलामा हुने आन्दोलनको मारमा यो सडकका बोटविरुवा पनि पर्ने गरेका छन् ।

माइतीघर–बानेश्वर काठमाडौंमा हरियालीयुक्त देखिने नमूना सडक नै हो । २०७१ सालमा सार्क शिखर सम्मेलन हुने समयमा यो सडकमा लाखौं खर्च गरेर रूखबिरुवा र दूबो रोपिएको थियो ।

शिक्षकहरूको आन्दोलनका कारण काठमाडौँ उपत्यकाको कोर एरियामा दिनभर सवारी जाम भएको छ । काठमाडौँको बानेश्वरदेखि माइतीघर तर्फ ओहोरदोहोर गर्ने सवारी साधनलाई ट्राफिक प्रहरीले रोकेको थियो । त्यसको असर चक्रपथसम्म नै परेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here