नेपाल र चीनबीच १३ बुँदे सम्झौता, पूर्वाधार,विद्युत लगायतमा जोड

काठमाडौं । नेपाल र चीनबीच विभिन्न विकास परियोजनाअन्तर्गत १३ वटा सम्झौतामा हस्ताक्षर भएको छ।

बेइजिङस्थित ग्रेटहल अफ दि पिपुलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ समकक्षी ली छ्याङबीचको भेटवार्तापछि द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो।

नेपाल र चीनबीच कृषि, सञ्चार, विज्ञान तथा प्रविधि, पूर्वाधार, व्यापारसँग सम्बन्धित विषयमा सम्झौताहरु भएका हुन्। नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा अनुसन्धान परिषद्‌बीच पनि सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

भेटमा चिनियाँ प्रधानमन्त्री ली छियाङले चीन-नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले महसुस गरेको बताएका छन् । प्रधानमन्त्री छियाङले नेपालका प्रधानमन्त्री दाहाल भ्रमण द्विपक्षीय सम्बन्धको विस्तार र सुदृढीकरण गर्न थप सहयोगी बनेको बताए।

उनले प्रधानमन्त्री प्रचण्डले चीन-नेपाल सम्बन्धलाई थप सुमधुर बनाउन योगदान पुर्‍याएको उल्लेख गरे। प्रधानमन्त्री छियाङले नेपालको सदियौँ पुरानो एक छिमेकी रहेको चीनले सदैव नेपालको विकास, समृद्धि र हित चाहेको धारणा राखेका थिए।

दाहाल र चिनियाँ समकक्षी छ्याङबीच भेटवार्ता अघि प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ जनमुक्ति सेनाले गार्ड अफ अनर प्रदान गरेको थियो।

यस्तै आजै बिहान प्रधानमन्त्री दाहाल र चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लिजीबीच भेटवार्ता भएको थियो। प्रधानमन्त्रीसहितको टोली एक साताको औपचारिक चीन भ्रमणका लागि आइतबार बेइजीङ पुगेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here