काठमाडौंका यी ठाउँमा आज सवारी साधन चलाउन नपाइने

काठमाडौं । आज इन्द्रजात्रा पर्व मनाइँदै छ। काठमाडौंको हनुमानढोका अगाडि विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याएपछि प्रारम्भ हुने नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ।

इन्द्रजात्राको अवसरमा आयोजना गरिने जात्राका कारण सवारी आवागमन प्रभावित हुने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न काठमाडौं महानगरले आग्रह गरेको छ।

इन्द्रजात्राको अवसरमा हुने विभिन्न सांस्कृतिक कार्यक्रम, पूजा र झाँकीका कारण त्यस्ता कार्यक्रम हुने ठाउँमा सवारी प्रवेशमा रोक लगाइएको काठमाडौं महानगरपालिकाले जनाएको छ।

आज (बिहीबार) वसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै वसन्तपुरसम्म सवारी साधन चलाउन रोक लगाइएको छ।

महानगरपालिकाका अनुसार जात्रा अवधिभर विभिन्न क्षेत्रमा सवारी साधनको प्रवेशमा रोक लगाइएको छ।

असोज १२ गते (शुक्रबार)का दिन वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमान ढोका हुँदै वसन्तपुर क्षेत्रमा सवारी साधन प्रवेश गर्न पाइने छैन।

असोज १५ गते वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासिं, इन्द्रचोक, मखन हुँदै वसन्तपुर क्षेत्रमा सवारी निषेध गरिएको छ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी ८ दिनसम्म मनाउने प्रचलन छ।

भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ। लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ। शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो। इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ।