काठमाडौं । ‘के हामी आत्मनिर्भर छौं ?’ भन्ने थिममा केन्द्रित रहेर राजधानीको भृकुटीमण्डपमा चलिरहेको फर्निचर तथा फर्निसिङ एक्स्पोमा अवलोकनकर्ताको चाप देखिएको छ । इन्द्रजात्राको अवसरमा भएको विदाका कारण एक्स्पोको दोस्रो दिन बिहीबार अवलोकनकर्ताको चाप देखिएको हो । एक्स्पोमा सञ्चालित खुल्ला बजारमा पनि उपभोक्ताको चहलपहल बाक्लो छ ।
बिहीबार साँझसम्ममा १७ हजारले एक्स्पोको अवलोकन गरेको आयोजकले जानकारी दिएको छ । फर्नेक्स २०२३ को आयोजक नेपाल फर्निचर तथा फर्निसिङ संघका महासचिव एवं एक्स्पोका प्रवक्ता सञ्जय लामाका अनुसार बिहीबार मात्र १० हजारभन्दा धेरैले एक्स्पो अवलोकन गरेका छन् । एक्स्पो सुरु भएको दिन बुधबार पनि ७ हजारले अवलोकन गरेका थिए । आगामी आइतबारसम्म चल्ने एक्स्पोको ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको लामाले जानकारी दिए ।
एक्स्पोलाई किङ कोयलले शीर्ष प्रायोजन गरेको छ । त्यसैगरी प्रेष्टिज कार्पेट एशोसिएट पार्टनर रहेको एक्स्पोको पावर्ड वाईमा फर्निचर हब प्रालि रहेको छ । नेपाल चेम्बर अफ कमर्श र नेपाल फर्नचर तथा फर्निसिङ व्यवसायी महासंघले इन्डोर्स गरेको एक्स्पोको मेन स्पोन्सर्समा डल्फिन मोड्युल्ड फर्निचर, फिदरलाइट, आरओके प्रोडक्ट इण्डष्ट्रीज, सरावगी ओभरसीज र यती पोलिकेम रहेका छन् । इभेण्ट सोलुसन प्रालिले व्यवस्थापन गरेको एक्स्पोको अफिसियल पार्टनरमा लङसे, भिवोन चियर र वेबट्युन रहेका छन् ।
१०० भन्दा बढी स्टलहरु रहेको एक्स्पोमा फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीहरुले आफ्ना उत्पादन तथा सेवाका बारेमा जानकारी दिनुका साथै बिक्री बितरण गर्नेछन् । एक्स्पो स्थलमा नै सामान खरिद बिक्री गर्नका लागि खुल्ला बजार समेत सञ्चालन गरिएको छ भने अवलोकनकर्तालाई एक्स्पो निशुल्क प्रवेश गर्ने व्यवस्था गरिएको छ ।
एक्स्पोले राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्रान्डहरुलाई साझा प्लेटफर्म प्रदान गरी उपभोक्तासम्म पुग्न लागि सहज मार्ग निर्देशन गर्ने एशोसिएशनको विश्वास छ । ग्राहकहरुलाई एउटै प्लेटफर्ममा राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीद्धारा उत्पादित विभिन्न सामाग्रीहरु उपलब्ध गराउन यो एक्स्पो महत्वपुर्ण हुने अपेक्ष गरिएको छ ।
फर्निचर र फर्निसिङ सामग्रीका उत्पादक, मेसिनरी आपूर्तिकर्ता, आयातकर्ता, वितरक, डिलर, इन्टेरियर डिजाइनर, स्टार्टअप तथा फर्निचर उद्योगमा काम गर्न इच्छुक मानिसहरुलाई साझा प्लेटफर्म प्रदान गर्न र अर्थतन्त्रलाई चलायमान बनाउन टेवा पुग्ने अपेक्षा सहित एक्स्पो आयोजना गरिएको हो ।
एक्स्पोमा सहभागि हुने व्यवसायीहरुले आफ्नो ब्रान्ड, उत्पादन तथा सेवाको प्रचारप्रसार गर्ने अवसर पाउने छन् भने सम्भावित ग्राहकसँगको साक्षात्कार र भविष्यमा सहकार्य तथा व्यापार विस्तारका लागि आवश्यक पर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीहरुसँग भेटवार्ता गर्ने अवसर पाउने छन् ।
नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा मेड इन नेपाल फर्निचरको बजारीकरण गरी व्यापार बढाउन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा सहकार्य गरी बी टु बी सेवा प्रदान गर्नु एक्स्पोको लक्ष्य रहेको छ । फर्निचर तथा फर्निसिङ क्षेत्रमा नयाँ अवधारणा र डिजाइनहरूको प्रचार तथा प्रवद्र्धनमा एक्स्पोले महत्वपुर्ण भुमिका खेल्ने आयोजकको विश्वास छ ।