ढोरपाटनमा सिकारयाम शुरु, ८ नाउर, बँदेल र ४ झारलको सिकार अनुमति

काठमाडौं । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकारयाम सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलो सिकारयाम असोज–मंसिरका लागि आठ नाउर र चार झारलको सिकार गर्न अनुमति दिएको छ ।

यस्तै सिकार आरक्षले आठ बँदेलका लागि समेत सिकार खेल्न अनुमति प्रदान गरेको छ । पहिलो याममा अमेरिकाका पाँच सिकारी, जर्मनी, रसिया र बुलरियाका एक–एक सिकारी सिकार खेल्नका लागि अनुमति पाएका हुन् ।

उनीहरूले बन्दोबस्तीका सामग्रीमार्फत असोज १७ गतेपछि ढोरपाटन सिकार आरक्षमा वैधानिकरूपमा आफूले प्राप्त गरेको कोटाका आधारमा सिकार खेल्न सक्नेछन् । विदेशी सिकारीसहितको समूहले १५ दिन जङ्गलमै समय बिताउँछन् । पन्ध्र दिनमा सिकार खेल्न नसके सिकारी खाली हात फर्कनुपर्ने आरक्षको नियम छ ।

विसं २०४४ मा स्थापना भएको सिकार आरक्ष पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको भए पनि आरक्षको मुख्य कार्यालय भने बागलुङको ढोरपाटन उपत्यकामा पर्छ । सिकार आरक्षको सुरक्षाका लागि २०७३ सालदेखि नेपाली सेनाको गुल्मसमेत स्थापना भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here