कर्फ्यूले सीमा नाकामा रोकिएका यात्रु प्रहरीको स्कटिङमा गन्तव्यतर्फ

काठमाडौं । नेपालगञ्जमा लागेको ‘कर्फ्यू’का कारण नेपाल–भारत सीमानाका जमुनाहामा अलपत्र परेका नेपालीलाई गन्तव्यतर्फ पठाउन सुरु गरिएको छ ।

कर्फ्यूका कारण सीमा क्षेत्रमा रोकिएका नेपालीलाई गन्तव्यसम्म पठाउन सुरु गरिएको हो । हिन्दु–मुस्लिम तनाव कम गर्न नेपालगञ्जमा मंगलबार दिउँसो १ बजेदेखि लागेको कर्फ्यूका कारण भारतको विभिन्न ठाउँबाट आएका नेपालीहरू जमुनाहा नाकामै रोकिएका थिए । यो नाका पश्चिम क्षेत्रका लागि भारत आउजाउ गर्ने मुख्य नाका हो ।

दसैँ नजिकिँदै गर्दा भारतमा कामका लागि गएका नेपाली फर्किने क्रम बढ्न थालेको छ । भारतको सिमला, दिल्ली, पञ्जाबलगायतका क्षेत्रमा नेपाली कामका लागि जाने गर्दछन् ।

कर्फ्यूपछि नेपालगञ्ज बजार बिहानैदेखि शान्त रहेको छ । आज बिहानसम्म कर्फ्यु उल्लङ्घनका घटना भएका छैनन् । यद्यपि केही व्यक्तिहरू बिहानको हिँडाइ (मर्निङवाक) मा निस्किएको देखिएको थियो । अत्यावश्यक कामबाहेक सडकमा हिँड्न दिइएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here