संघीयता कार्यान्वयन प्रभावकारी ढंगले अघि बढेको छ : अर्थमन्त्री खतिवडा

काठमाडौं, १८ भदौ । अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय संघीयता कार्यान्वयन शीघ्र र प्रभावकारी ढंगले अघि बढेरहेको बताएका छन् ।

बेलायत सरकारको डिर्पाटमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (डिएफआइडी) का स्थायी सचिव म्याथ्यु जोन राइक्रफ्टसँग अर्थ मन्त्रालयमा आज भएको शिष्टाचार भेटमा अर्थमन्त्री डा. खतिवडाले स्थानीय तहमा खासगरी न्यायिक पद्धतिमा क्षमता विकासको अभावलाई सुधार गर्न सरकारको जोड् भएको बताएका हुन् ।

उनले संस्थागत व्यवस्था अन्य अधिकार र कर्तव्यको बाँडफाँड पनि सुमधुर ढंगले भइरहेको बताए ।

प्रदेश तथा स्थानीय तह नयाँ सन्र्दभ र सिकाईकै चरणमा भएकाले सुशासन र न्यायिक पद्धति सम्बन्धमा थप क्षमता विकास गर्न आवश्यक भएको उनको भनाइ थियो ।

मुलुक एकात्मक शासन व्यवस्थाबाट संघात्मक पद्धतिमा रुपान्तरण भएकोले साधन स्रोतको हिस्सेदार, अधिकार र कर्तव्य सन्तुलित रुपमा व्यवस्थापन गरी कार्यान्वयनको चरण भएको उनले जानकारी दिए ।

संघीय संरचना बमोजिम प्राकृतिक स्रोत र साधनको यथोचित बाँडफाँड गरी तीनै तहमा कार्यक्रम खर्च र लेखा प्रणालीलाई व्यवस्थित गर्ने प्रयास गरिएको उनले जानकारी दिए ।

संघीय संरचनामा नेपालको नयाँ अनुभव भएकाले संघात्मक व्यवस्थालाई कार्यान्वयन गर्न छोटो समयमै वित्तीय संघीयता, कानूनी र नीतिगत आधारहरु निर्माण गरिसकिएको उनले स्पष्ट पारे ।

संघीयता कार्यान्वयन गर्न निर्माण भएका कानून तथा नीतिको प्रभावकारी रुपमा व्यवहारिक कार्यान्वयन गर्न सिमित स्रोत र साधनका बीच केही चुनौतिहरु देखा पर्न सक्ने उनको भनाइ थियो ।

भेटमा डिएफआइडीका स्थायी सचिव राइक्रफ्टले नेपाल एकात्मक शासन प्रणालीबाट संघीय प्रणालीमा जानु महत्वपूर्ण राजनीतिक परिवर्तन विश्वका लागि उदाहरणीय भएको बताए ।

नेपालका विभिन्न क्षेत्रमा लगानी गर्न चाहेको भन्दै संघीयता कार्यान्वयनका लागि तयार भएका कानून तथा नीतिहरुको प्रभावकारी रुपमा व्यवहारिक कार्यान्वयनका चरणमा देखा पर्न सक्ने समस्याहरुलाई बेलायत सरकार सघाउन तयार रहेको उनले बताए ।

भेटमा नेपालस्थित बेलायत राजदूत रिचर्ड मोरिस, डिएफआइडीका प्रतिनिधिलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here