क्लियरिङ सदस्यले मार्जिन कारोबार राफसाफ हितग्राही खाता खोल्न पाउने

काठमाडौं, १९ भदौ । क्लियरिङ सदस्यले मार्जिन कारोबार राफसाफ हितग्राही खाता खोल्न पाउने भएका छन् ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सीडीएस एण्ड क्लियरिङ लिमिटेडलाई मार्जिन कारोबार राफसाफ प्रयोजनका लागि हितग्राही खातासम्बन्धी व्यवस्था गरी धितोपत्र बजार, निक्षेप सदस्य र राफसाफ सदस्यलाई जानकारी गराउन निर्देशन दिएपछि यो सुविधा थपिएको हो ।

उक्त व्यवस्था पश्चात राफसाफ सदस्यले मार्जिन कारोबार राफसाफ प्रयोजनका लागि कुनै निक्षेप सदस्यमार्फत् मार्जिन कारोबार राफसाफ हितग्राही खाता खोल्न सक्ने व्यवस्था गरिएको छ ।

हालसम्म मार्जिन कारोबार सुविधा संचालनका लागि मार्जिन कारोबारको राफसाफसम्वन्धी व्यवस्था गर्न छुट्टै हितग्राही खाता आवश्यक पर्ने तर विद्यमान धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ मा उक्त हितग्राही खाता संचालन सम्वन्धमा कुनै व्यवस्था नभएको अवस्था थियो ।

यही अवस्थालाई दृष्टिगत गरी सीडीएस एण्ड क्लियरिङ्गले धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ मा आवश्यक संशोधन प्रस्ताव सहित वोर्डमा स्वीकृतिका लागि पेश गरेको थियो । सो प्रस्तावअनुरुप बोर्डले धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ का पाँचौ संशोधन (२०७६) लाई स्वीकृति प्रदान गरेको छ ।

यस संशोधन पश्चात मार्जिन कारोवार सुविधा संचालनमा आई धितोपत्र बजारको दायरा बृद्धि हुने तथा कारोवारमा समेत विस्तार भई धितोपत्र बजार थप चलायमान हुने बोर्डको अपेक्षा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here