काठमाडौं। मलेसियामा सम्पन्न एसीसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टोली बिहीबार बिहान स्वदेश फर्किएको छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य अञ्जन धमला, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दलगायतका पदाधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरे।
प्रियिमर कपको उपाधिसँगै नेपाल एसिया कप खेल्नका लागि छनोट पनि भएको छ।
नेपालले मंगलबार क्वालालम्पुरस्थित बायोमास ओभल मैदानमा भएको फाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा १९ रनले हराउँदै उपाधि जितेको थियो। प्रतियोगिताभरिका सबै खेल जित्दै नेपाल उपाधि जितेर फर्केको हो।



























