सीएसआरका लागि हिमालय एयरलाइन्स र वायुसेवा सञ्चालकवीच सहकार्य

काठमाडौं, २० भदौ । हिमालय एयरलाईन्सले आफ्नो संस्थागत सामाजिक क्रियाकलापलाई अझ व्यापक बनाउन वायुसेवा सञ्चालक समिति नेपालसँग सहकार्य गरेको छ ।

वायुसेवा सञ्चालक समितिको नेतृत्वमा यो बर्ष काठमाडौंको मातातीर्थस्थित मातातीर्थ वृद्धाश्रम समितिलाई सहयोग गरिएको कम्पनीले जनाएको छ ।

वृद्ध महिलाहरुलाई अतिरिक्त हेरचाहको आवश्यकता हुन्छ । यही कुरालाई मध्यनजर गर्दै हिमालय एयरलाईन्सले आश्रममा सरसफाईका आवश्यक सामग्रीहरु वितरण गरेको छ । वृद्धाश्रम समितिको अनुरोध अनुसार एयरलाईन्सले साबुन, सर्फ, शौचालय सामग्री, टावल, कुचो तथा कपाल काट्ने सामाग्रीहरु उपलब्ध गराएको हो ।

काठमाडौंबाट १५ किलोमिटर पश्चिमको दूरीमा रहेको मातातीर्थ वृद्धाश्रम सन् १९९७ मा स्थापना भएको थियो । घरबारविहीन, हेरचाह नपाएका, परिवारविहीन ६० बर्ष उमेर काटेका वृद्ध नेपाली महिलाहरुलाई आश्रमले आश्रय दिँदै आइरहेको छ ।

आश्रमले भोजन, आश्रय तथा लत्ताकपडा बाहेक पनि स्वास्थ्य, धार्मिक तथा मनोरञ्जनात्मक सेवाहरु समेत उपलब्ध गराउँदै आएको छ । हाल आश्रममा २५ वृद्ध महिला र ५ सहयोगीहरु बस्दै आएका छन् ।

समितिका प्रबन्धक राम थापाज्यूलाई सामाग्री हस्तान्तरण गर्दै, ब्रान्ड तथा सर्भिस इम्प्रुभमेन्ट प्रमुख उज्ज्वला दलीले भने, ‘यस महान कदम उठाएकोमा हिमालय एयरलाईन्सले वायुसेवा सञ्चालक समितिको प्रशंसा गर्दछ । यी आमाहरुको नियमित सहयोगका लागि हिमालय एयरलाईन्स प्रतिबद्ध छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here