गृहमन्त्रीले बुझे चीनले पठाएको २८ करोडको राहत, भूकम्प प्रभावित क्षेत्रमा लैजाने

काठमाडौं । चीन सरकारले जनमुक्ति सेनाका जहाजमार्फत भूकम्पपीडितका लागि पठाएका २८ करोड नेपाली रुपैयाँ बराबरका राहत नेपाल सरकारले बुझेको छ।

चीन सरकारले पठाएको १ करोड ५० लाख आरएमबी अर्थात् २८ करोड नेपाली रुपैयाँ बराबरका राहत सामग्री उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुझेका हुन्।

एयरक्राफ्टमार्फत् ४ हजार ६०० वटा कम्बल र ६०० सय टेन्ट आएको नेपालस्थित चिनियाँ दूताबासले जनाएको छ। यस्तै, केरुङ नाका हुँदै चिनियाँ सरकारले झन्डै १० करोड बराबरको २३ ट्रक छुट्टै राहत सामाग्री पठाएको बताइएको छ। जसमा २ हजार ३०० टेण्ट, २ हजार कम्बल, ७०० टर्पलिन, ५०० वटा महामारी रोक्ने स्पेयर र १० हजार वटा लामखुट्टे मार्ने औषधि छन्।

चीनले हस्तान्तरण गरेका ती सामान अब ट्रकमा हालेर सशस्त्र प्रहरीले भूकम्प प्रभावित रुकुम र जाजरकोट क्षेत्रमा पुर्‍याउने छ। जाजरकोट भूकम्पका पीडितलाई राहत बोकेर चिनियाँ सेनाका दुई जहाज बुधबार सबेरै बिहान पोखरा विमानस्थलमा आइपुगेका थिए।

यसअघि प्रभावितहरूका लागि १० करोड रुपैयाँको राहत सामग्री दिने घोषणा गरेको चीनले मंगलबार थप २८ करोड बराबरको राहत घोषणा गरेको थियो।

यसअघि पहिलो खेपमा राहत सामग्री बोकेका ट्रकहरू सोमबार केरुङ हुँदै नेपालको रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइसकेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here