एकैपटक नेप्सेमा सूचीकृत ८९ कम्पनीलाई कारबाही, १ लाखसम्म जरिवाना

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एकैपटक नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ८९ कम्पनीलाई कारबाही गरेको छ ।

बोर्ड संचालक समितिको बैठकले तोकिएकै समयमा वित्तीय विवरण नबुझाउने ८९ कम्पनीलाई कारबाही गर्ने निर्णय गरेको हो । साथै, बोर्डले ती कम्पनीहरूलाई स्पष्टीकरण समेत सोधेको छ ।

एकैपटक यति धेरै कम्पनीलाई कारबाही गरिएको यो पहिलो पटक भएको बोर्डले जनाएको छ । बोर्डका अनुसार गत आर्थिक वर्षको त्रैमासिक वित्तीय विवरण नबुझाएका र ढिलो बुझाएका कम्पनीलाई कारबाही गरिएको हो ।

धितोपत्र नियमावली अनुसार सूचीकृत कम्पनीले हरेक त्रैमास सकिएको १ महिना भित्र वित्तीय विवरण राष्ट्रिय स्तरको दैनिक पत्रिकामा सार्वजनिक गरिसक्नुपर्ने व्यवस्था छ । साथै, सो विवरण बोर्ड समक्ष पेस गर्नु पर्ने व्यवस्था छ ।

बोर्डलाई उपलब्ध गराउनु पर्ने विवरण समयमै उपलब्ध गराउन नसक्ने भए त्यसको जानकारी बोर्डलाई अग्रिम गराउनु पर्ने समेत नियमावलीमा उल्लेख छ।

बोर्डले विवरण नबुझाउने कम्पनीलाई कानुन बमोजिम जरिवाना समेत तिराउने निर्णय गरेको छ । कारबाहीमा पर्ने कम्पनीलाई ५० हजारदेखि १ लाखसम्म जरिवान गर्ने निर्णय गरेको छ ।

धितोपत्र सम्बन्धी ऐनको दफा १०१ मा समयमा वित्तीय विवरण पशे नगर्ने र ऐन अन्तरगत बनेको नियम र विनियम कार्यन्वयन नगर्नेलाई ५० हजार देखि १ लाखसम्म कारवाही गर्नसक्ने व्यवस्था गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here