एचआर म्यानेजरहरुमा निर्णय क्षमताको कमी, ६० प्रतिशत भन्छन् – सुधार आवश्यक

काठमाडौं, २१ भदौ । मानव संसाधन म्यानेजरहरुमा निर्णय क्षमताको कमी देखिएको छ ।

मानव संशाधन समाजका २ सय भन्दा बढी सदस्य कम्पनीका मानव संशाधन म्यानेजरहरुसँग गरिएको सर्वेक्षणले उनीहरुमा निर्णय क्षमता अन्य सीप भन्दा कम रहेको देखाएको हो ।

‘नेपाल स्किल रिपोर्ट ः एन इनिसियल एसेसमेण्ट’ नाम दिइएको सो प्रारम्भिक सर्वेक्षणका अनुसार करीब २५ प्रतिशत म्यानेजरहरुमा चाहिए भन्दा कम निर्णय क्षमता रहेको र ३७ प्रतिशतमा निर्णय क्षमता ठिकै रहेको तर सुधारको आवश्यकता रहेको छ ।

त्यसैगरी, रणनीतिक योजना तथा सोचमा पनि मानव संशाधन म्यानेजरहरु कमजोर देखिएको छन् । सहभागीको २३ प्रतिशतले आफूमा आवश्यक भन्दा कम रणनीतिक योजना बनाउने क्षमता रहेको स्विकारेका छन् । ४३ प्रतिशतले त्यस्तो सीप वा क्षमतामा सुधार ल्याउनु पर्ने आवश्यकता रहेको बताएका छन् भने ३४ प्रतिशतले आफूमा त्यस्तो सीप रहेको धारणा व्यक्त गरेका छन् ।

दुई तिहाइ भन्दा बढी म्यानेजरहरुले आफ्नो लेखन क्षमता सुधार्न चाहेको बताएका छन् भने २२ प्रतिशतले मात्र आफूमा त्यस्तो सीप आवश्यक मात्रामा रहेको संकेत गरेका छन् ।

उनीहरुले समस्याको विश्लेषण र समाधान गर्ने क्षमता बढाउन चाहेको पनि अध्ययनले देखाएको छ । करीब ६७ प्रतिशत म्यानेजरहरुले आफूले समस्या समाधान क्षमता बढाउन चाहेको बताएका छन् ।

अध्ययनले सीपको खाडल पुर्नका लागि तत्कालै आवश्यक तालिमको व्यवस्था गर्नु पर्ने औंल्याएको छ । करीब ९१ प्रतिशतले त्यस्तो तालिम चाहिएको बताएका हुन् ।

तर सहभागीको ठूलो हिस्साले मानव संशाधनका लागि आवश्यक पर्ने तालीमा र तालीम दिने संस्था नेपालमा नभएको बताएका छन् ।

सो प्रतिवेदन शुक्रवार आयोजित आठौं मानव संशाधन सम्मेलनमा सार्वजनिक गरिएको हो ।

अध्ययनका प्रमुख अनुसन्धान संयोजक प्रोफेसर डा. मोहन दास मानन्धरले नेपालमा दक्ष र सिप दिने रणनीति नै कमजोर भएको बताए । उनले नेपालमा आर्थिक विकास गर्नका लागि जमीन, उत्पादन, पूँजी र श्रमको अवरोध रहेको भन्दै सबैभन्दा कमजोर क्षेत्र श्रम रहेको दाबी गरे ।

सो प्रारम्भिक रिपोर्टमा नेपालका जनशक्तिलाई दिईएको मानव संसाधनको सिप र आवश्यक भएको सिप बिचको भिन्नता उल्लेख गरिएको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here