नेपालको पहिलो इलेक्ट्रिक सवारी एप ‘इड्राइभ नेपाल’ सञ्चालन

काठमाडौं । नेपालमा पहिलो पटक इलेक्ट्रिक सवारी साधनलाई समेटेको राइड शेयरिङ एप ‘इड्राइभ नेपाल’ सञ्चालनमा आएको छ। ईड्राइभ नेपाल कम्पनी प्रालिले १४ करोड रुपैंयाको लगानीमा इलेक्ट्रिक ट्याक्सी र स्कुटरबाट सेवा शुरु गरेको हो।

अन्य सेवाभन्दा सस्तो, नयाँ गाडी, दुर्घटना विमा, ओपिटी प्रणाली र जिपिएस प्रणाली जडान गरी निकै सुरक्षित प्रविधिका साथ सञ्चालनमा ल्याइएकोले ‘इड्राइभ नेपाल’ सेवाग्राहीको आकर्षण हुने कम्पनीले जनाएको छ।

बिहिबार प्रमुख अतिथी नेकपा एमालेको प्रतिनिधि सभाका सचेतक महेश वर्तौलाले रिवन काटेर तथा बाग्मति प्रदेशका उपसभामुख अप्सरा चापागाँई र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हरियो झन्डा फहराएर ‘इड्राइभ नेपाल’ र ट्याक्सी सेवाको उद्घाटन गरेका थिए ।

राष्ट्रिय सभा गृहमा उद्घाटन गरेसंगै ५२ वटा नयाँ इलेक्ट्रिक्स ट्याक्सीले टुंडिखेलको एक चक्कर लगाएको थियो। हाल कम्पनी आफैले २० वटा ट्याक्सी सञ्चालनमा ल्याइसकेको छ भने थप एक सय वटा ट्याक्सी सञ्चालन गर्ने तयारी गरिसकेको र त्यो खरिद प्रक्रिया अन्तिम चरणमा पुगिसकेको कम्पनीले जनाएको छ।

साथै ईड्राइभको अभियानमा नेपालमा रहेका अन्य इलेक्ट्रिक सवारी साधनहरू पनि क्रमशस् जोडिंदै जाने कम्पनीले जनाएको छ। ईड्राइभ नेपालका अध्यक्ष राजेश मास्केले भने, ‘सेवाग्राहीहरू सुविधा सहित सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउनु ईड्राइभ नेपालको उद्देश्य हो। साथै नेपालमा रोजगारीको नयाँ अवसर, इलेक्ट्रिक सेवाको उच्च प्रयोग, वातावरण संरक्षण, थुप्रै धनराशि बिदेसिनबाट जोगाउनु ईड्राइभ नेपालको अभियान हुनेछ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here