विद्युत् महशुल नतिर्ने २६ हजार ग्राहकको लाइन काटियो

काठमाडौं, २५ कात्तिक । नेपाल विद्युत प्राधिकरणले समयमा विद्युत् महशुल नतिर्ने २६ हजार ग्राहकको लाइन काटेको छ । गत १२ कात्तिकबाट विद्युत् महशुल बक्यौता असुलीलाई देशभरि अभियानकै रुपमा चलाइरहेको प्राधिकरणले बिहीबारसम्ममा २६ हजार २ सय ४४ ग्राहकको लाइन काटेको छ । लाइन काटिएका ग्राहकको बक्यौता रकम करिब ६२ करोड रुपैयाँ छ । असूलउपर गर्नुपर्ने विद्युत् महशुल बक्यौता बृद्धि हुँदै गएपछि प्राधिकरणका देशभरिका वितरण केन्द्रहरुले महशुल नतिर्ने ग्राहकहरुको लाइन काटिरहेका छन् ।
यसअवधिमा सबैभन्दा बढी मधेश प्रदेशमा लाइन काटिएको छ । मधेश प्रादेशिक कार्यालय, जनकपुर मातहतका वितरण केन्द्रहरुले ४ हजार ८ सय ५२ ग्राहकको लाइन काटेका छन् । उक्त ग्राहकको बक्यौता रकम १७ करोड ११ लाख रुपैयाँ रहेको छ । कोशी प्रादेशिक कार्यालय, विराटनगर मातहतका वितरण केन्द्रहरुले महशुल नतिर्ने ४ हजार ३ सय ३१ ग्राहकको लाइन काटेका छन् । उक्त ग्राहकहरुको बक्यौता रकम ९ करोड ८१ लाख रुपैयाँ रहेको छ ।
लुम्बिनी प्रदेश डिभिजनल कार्यालय, नेपालगञ्ज मातहतका वितरण केन्द्रहरुले ४ हजार १८ ग्राहकको लाइन काटेका छन् । उनीहरुको बक्यौता रकम ३ करोड ८५ लाख रुपैयाँ छ । लुम्बिनी प्रादेशिक कार्यालय, बुटवल मातहतका वितरण केन्द्रहरुले ३ हजार ३ सय ५२ ग्राहकको लाइन काटेका छन् । उनीहरुको बक्यौता रकम ७ करोड ८५ लाख रुपैयाँ छ । बागमती प्रादेशिक कार्यालय, काठमाडौं मातहतको वितरण केन्द्रहरुले २ हजार ७ सय ९३ ग्राहकको लाइन काटेका छन् । बक्यौता रकम ११ करोड ३४ लाख रुपैयाँ छ ।
गण्डकी प्रादेशिक कार्यालय, पोखराले महशुल नतिर्ने २ हजार ७ सय ५५ ग्राहकको लाइन काटेको छ । बक्यौता रकम ४ करोड ६ लाख रुपैयाँ छ ।
बागमती प्रदेश डिभिजनल कार्यालय, हेटौंडा मातहतका वितरण केन्द्रहरुले २ हजार १ सय ७७ ग्राहकको लाइन काटेका छन् । बक्यौता रकम ४ करोड ८२ लाख रुपैयाँ छ । सुदूरपश्चिम प्रादेशिक कार्यालय, अत्तरिया मातहतका वितरण केन्द्रहरुले १ हजार ३ सय ४२ ग्राहकको लाइन काटेका छन् । बक्यौता रकम २ करोड २७ लाख रुपैयाँ छ ।
कर्णाली प्रादेशिक कार्यालय, सुर्खेत मातहतका वितरण केन्द्रहरुले ६ सय २४ ग्राहको लाइन काटेका छन् । बक्यौता रकम ९१ लाख रुपैयाँ छ ।
प्राधिकरणले तिहारपछि वक्यौता असुलीलाई अझै सशक्त बनाउने छ । विद्युत महशुल संकलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ भएको १६औं दिनदेखि थपदस्तुर आकर्षित हुने व्यवस्था छ । मिटर रिडिङ भएको मितिले १६औं दिनदेखि ३०औं दिनसम्म ५ प्रतिशतका दरले र ३१औं दिनदेखि ४०औं दिनसम्म १० प्रतिशतका दरले थपदस्तुर लाग्ने प्रावधान छ । मिटर रिडिङ भएको मितिले ४०औं दिनसम्म पनि विद्युत महशुल नबुझाउने उपभोक्तालाई ४१औं दिनदेखि विलको २५ प्रतिशतका दरले थपदस्तुर लाग्ने व्यवस्था छ ।

यसरी २५ प्रतिशतका दरले थपदस्तुर लागेको ६०औं दिनसम्म पनि बक्यौता महशुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ । लाइन काटेको ६ महिनासम्म पनि बक्यौता महशुल नबुझाउने उपभोक्ताहरुलाई कालोसूचीमा राखी असूली प्रक्रिया अगाडि बढाउने प्रावधान छ ।
प्राधिकरणले विनियमावलीको यही प्रावधानको आधारमा मिटररिडिङ भएको मितिले ६०औं दिनसम्म पनि बक्यौता विद्युत महशुल भुक्तान नगर्ने उपभोक्ताहरुको चरणबद्धरुपमा विद्युत लाइन काटी बक्यौता महशुल असूलउपर गर्ने रणनीति लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here