काठमाडौंमा यी चार स्थानमा फूलमाला बिक्रि गर्न पाइने

तस्विर: रक्षा रेग्मी

२५ कात्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले तिहारका अवसरमा नेपाली फूलको प्रयोग र उत्पादन प्रवर्द्धन गर्न महानगर क्षेत्रभित्रका चार स्थानलाई बिक्रीस्थल तोकेको छ । तिहारमा घरघरमा नेपाली फूलको प्रयोग गरी स्वदेशी उत्पादनलाई प्रवर्द्धन र किसानलाई प्रोत्साहन गर्न महानगरपालिकाभित्रका चार स्थानमा बिक्रीवितरणको व्यवस्था मिलाइएको महानगरका मेयर बालेनले जानकारी दिएका छन् ।

नेपाली फूल सयपत्री, मखमली र गोदावरीलाई सहज र सुलभ मूल्यमा उपभोक्तासमक्ष पुर्‍याउन भृकुटीमण्डप, तीनकुने, बालाजुस्थित भ्याली कोल्डस्टोर र हाँडीगाउँ कृष्णमन्दिर नजिक बिक्रीस्थल तोकिएको उनले बताए । यी चार स्थानमा फूल बेच्न बस्नेलाई महानगरपालिकाले अवरोध नगर्ने मेयर बालेन शाहले बताएका छन् । ‘नेपालमा आर्थिक मन्दी भइरहेका बेला नेपाली किसानले उत्पादन गरेको सयपत्री फूल किन्दा नेपाली पैसा विदेश जान रोकिनेछ’, उनले फूल बिक्री गर्ने स्थान तोक्नुको प्रयोजनबारे फेसबुकमा लेखेका छन् ।

नेपाल फ्लोरिकल्चर एशोसिएनका अध्यक्ष मीनबहादुर तामाङले अघिल्ला वर्षको तुलनामा यस वर्ष करिब दुई सय बिघा बढी जग्गामा फूलखेती वृद्धि भएकाले नेपाली बजारमा स्वदेशी उत्पादनले धान्ने बताए । ‘स्वदेशी फूल र माला मात्रै प्रयोग गर्ने भनिए पनि अहिलेसम्म करिब तीन लाख किलोभन्दा बढी फूल भित्रिएको तथ्याङ्क छ’, उनले भने ।

विगतका वर्षमा प्रमुख चाडमा ९० प्रतिशत फूल भारतसँग निर्भर रहने गरेकामा केही वर्षयता नेपाली फूलले ८० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको उनले बताए । भारतीय फूलको माला सुतलीमा उनिएको हुन्छ भने नेपाली फूलको माला सेतो धागोबाट तयार हुने भएकाले सहजै चिन्न सकिने व्यवसायीको भनाइ छ ।

नेपाल चेम्बर्स अफ कमर्श काठमाडौँका अध्यक्ष कृष्णमान श्रेष्ठले फूलैफूलको पर्व तिहारमा उपभोक्तालाई मनासिव मूल्यमा नेपाली उत्पादन पुर्‍याउने र क्रमशः आत्मनिर्भर हुने प्रयासमा सहयोग पुर्‍याउन आह्वान गरे ।

‘स्वदेशी ताजा र सुगन्धित फूल र माला चढाएर लक्ष्मी खुसी पार्नुस्, दाजु र भाइलाई पूजा गर्नुस् । सहजरुपमा गुणस्तरीय नेपाली फूलमा किनेर किसानलाई समर्थन र सहयोग गर्नुपर्छ’, उनले भने । तिहारमा सहरी क्षेत्रमा झण्डै ४० लाख थान माला बिक्री हुने गरेकामा सयपत्रीको ३५ लाख थान तथा बाँकी गोदावरी, मखमलीलगायत फूलको माला बिक्री हुने गरेको छ । तिहारमा मात्रै करिब ३५ करोड रुपैयाँको फूलको कारोबार हुने अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here