वैदेशिक व्यापार घाटा ४ खर्ब ६१ अर्ब, आयात–निर्यात दुवै घट्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिना (साउनदेखि कात्तिकसम्म) को अवधिमा नेपालको वैदेशिक व्यापार घाटा चार खर्ब ६१ अर्ब ९३ करोड ८० लाख ९३ हजार पुगेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० को पहिलो चार महिनामा नेपालको व्यापार घाटा पाँच खर्ब ८७ अर्ब ४६ करोड ५६ लाख ९७ हजार रुपैयाँ थियो । भन्सार विभागका अनुसार कात्तिक महिनामा १ खर्ब ५ अर्बको विदेशी वस्तु आयात भएको छ ।

यो चालु आवको ४ महिना यताकै कम हो । यस वर्ष असोजमा १ खर्ब ४८ अर्ब, भदौ १ खर्ब ३० अर्ब र साउनमा १ खर्ब २९ अर्बको सामान आयात भएको थियो ।

आयातमा गरिएको कडाइ हटाए पनि आर्थिक मन्दीका कारण उपभोक्ताको क्रयशक्तिमा ह्रास आउँदा आयातमा गिरावट आएको हो । चालु आर्थिक वर्ष २०८०/८१ को चार महिना (साउन–कात्तिक)को तथ्यांक अनुसार गत वर्षको तुलनामा आयात ३.७९ प्रतिशतले घटेको छ।

विभागका अनुसार चालु आवको कात्तिक मसान्तसम्म ५ खर्ब १२ अर्ब ५० करोड रुपैयाँको वस्तु आयात भएको छ । यो गत वर्ष सोही अवधिको तुलनामा २० अर्ब कम हो । गत वर्ष कात्तिकसम्म ५ अर्ब ३२ अर्ब ६९ करोड रुपैयाँको वस्तु आयात भएको थियो ।

आयात प्रतिबन्ध हटाए पनि माग नहुँदा आयात घटेको हो । विदेशी मुद्रा संचिति घट्दै गएको भन्दै सरकार र राष्ट्र बैंकले अघिल्लो वर्ष विदेशी वस्तु आयातमा कडाइ गरेको थियो । विदेशी मुद्रा संचितिमा सुधार आएसँगै सरकारले गत माघदेखि विभिन्न वस्तु आयातमा लगाएको प्रतिबन्ध हटाएको थियो ।

निर्यात पनि घट्यो

चालु आवको चार महिनामा आयातसँगै निर्यात पनि घटेको छ यस अवधिमा कुल ५० अर्ब ५६ करोड रुपैयाँको नेपाली उत्पादन निर्यात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ७.६८ प्रतिशतले कमी हो । गत वर्षको यही अवधिमा निर्यात ५४ अर्ब ७७ करोडको निर्यात भएको थियो ।

आयात घटेसँगै मुलुकको व्यापार घाटामा पनि सुधार आएको छ । समीक्षा अवधिमा व्यापार घाटा ३.३४ प्रतिशतले घटेर ४ खर्ब ६१ अर्ब रुपैयाँमा झरेको छ । जबकि गत वर्ष सोही अवधिमा व्यापार घाटा ४ खर्ब ७७ अर्ब रुपैयाँ थियो ।

चालु आवको ४ महिनामा कुल ५ खर्ब ६३ अर्बको वैदेशिक व्यापार भएको छ । यो गत वर्ष सोही अवधिकोभन्दा ४.१५ प्रतिशत कम हो । गत वर्ष कात्तिकसम्म ५ खर्ब ८७ अर्बको वैदेशिक व्यापार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here