४ महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युत् निर्यात

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो चार महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले चालु आवका साउन, भदौ, असोज र कात्तिकमा १ अर्ब ३६ करोड १२ लाख युनिट विद्युत् निर्यात गरी १२ अर्ब ५० करोड ८ लाख रुपैयाँ आर्जन गरेको हो ।

विद्युत् निर्यात गत आव २०७९/०८० को सोही अवधिको तुलनामा चार अर्ब ८६ करोड ४४ लाख रुपैयाँले बढी हो । गत आवको पहिलो चार महिनामा ९८ करोड ३८ लाख युनिट विद्युत् निर्यात गरी सात अर्ब ६३ करोड ६४ लाख रुपैयाँ आर्जन गरेको थियो ।

देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत जेठ २८ बाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो । गत जेठदेखि कात्तिकसम्ममा एक अर्ब ६२ करोड १६ लाख युनिट विद्युत् निर्यात गरी १४ अर्ब ५० करोड २१ लाख रुपैयाँ आर्जन भएको छ ।

साउनमा दुई अर्ब १४ करोड ७६ लाख, भदौमा तीन अर्ब ४७ करोड ८५ लाख, असोजमा चार अर्ब १७ करोड ७७ लाख र कात्तिकमा दुई अर्ब ६९ करोड ७० लाख रुपैयाँको विद्युत् निर्यात गरेको छ ।

चार महिनाको समग्र औसत विद्युत् बिक्री दर प्रतियुनिट ९ रुपैयाँ १८ पैसा छ । गत वर्ष सोही अवधिको समग्र औसत बिक्री दर प्रतियुनिट सात रुपैयाँ ७६ पैसा थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here