प्रकोपको रुपमा फैलियो डेङ्गु, नियन्त्रण गर्न सरकार असफल

काठमाडौँ, २२ भदौ । पछिल्लो समय देशका ४८ जिल्लामा भेटिइसकिएको डेङ्गु रोग ‘प्रकोप’का रुपमा फैलिँदै जाँदा रोग नियन्त्रण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय गम्भीर बन्न नसकेको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैककको शून्य समयमा सांसदहरुले रोग नियन्त्रणमा मन्त्रालयको प्रयासका बारेमा मन्त्रीले सदनमा जानकारी दिन निर्देश गर्न सभामुखसित आग्रह गरे ।

सांसद कृष्णगोपाल श्रेष्ठले आज काठमाडौंको नयाँ सडक निवासी ७६ वर्षीया एक वृद्धाको डेङ्गु रोगका कारण निधन हुनपुगेको जानकारी गराए ।

सांसद डिला सङ्ग्रौलाले देशका ४८ जिल्लामा फैलिएको डेङ्गु नियन्त्रण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय असफल रहेको आरोप लगाउँदै डेङ्गु रोगका बारेमा मन्त्रीले दिएका सार्वजनिक भनाइ आपत्तिजनक रहेको बताए । उनले प्रश्न गरे, ‘डेङ्गु नियन्त्रण गर्ने काम नेपाली सेनाको हो रु के सेना परिचालन गर्न मिल्छ ?’

सांसद पुष्पा भुषालले काठमाडौंमा नै प्रकोपका रुपमा फैलिएको डेङ्गु बनेको बताए । सांसद नरमाया ढकालले काठमाडौँ उपत्यकालगायत देशका अधिकांश जिल्लामा फैलिएको डेङ्गु नियन्त्रण भएका प्रयास बारेमा स्वास्थ्यमन्त्रीले सदनमा जानकारी गराउनुपर्दछ भनिन् ।

मन्त्रालयका अनुसार पछिल्लो समय सो रोग ४८ जिल्लामा फैलिएको, तीन हजारभन्दा बढी सङ्क्रमित हुन पुगेका र चारजनाको अकालमा मृत्यु भएको तथ्याङ्क रहेको छ ।

मन्त्रालयले विशेषगरी किटजन्य रोग नियन्त्रण गर्ने पद ‘भेट्रोल कन्ट्रोलर’ खारेज गरेपछि रोग नियन्त्रण गर्न कठिनाई परेको जनाइएको छ ।(रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here