ट्रलीबसपछि नेपाली सडकमा आजबाट पहिलो पटक विद्युतीय बस

काठमाडौं, २३ भदौ । ट्रलीबस काठमाडौंको पहिचान थियो । चिनियाँ सहयोगमा सन् १९७५ देखि काठमाडौंमा गुडेको ट्रलीबसले सार्वजनिक यातायात सुलभ मात्र बनाएको थिएन्, वातावरणमैत्री सवारी साधनका रुपमा नेपालको पहिचान पनि स्थापित गरेको थियो ।

तर, राजनीतिक खिचातानी र उचित स्याहार सुसारको अभावले यो कम्पनी धरासायी बनाइयो, खासगरी निजी क्षेत्रलाई काखि च्याप्ने सरकारी रणनीतिले आफ्नै सन्तानको घाटी च्यापेको पत्तै पाएन ।

सोमबारदेखि इतिहासमै पहिलो पटक काठमाडौंको सडकमा विद्यतीय सार्वजनिक बस गुड्दैछ । निजी विद्यूतीय सवारी साधन गुडेको त धेरै भइसकेको छ ।

तर, सार्वजनिक बसको भने शुभारम्भ हुने सकेको थिएन् । निजी लगानीको सुन्दर यातायातले दुई वटा बसबाट काठमाडौंको सडकमा विद्यूतीय सार्वजनिक सवारीको शूभारम्भ गर्न लागेको हो ।

ट्रली बस बन्द भएको एक दशकपछि वायू र ध्वनी दुबै प्रदुषणमुक्त विद्यूतीय बसले काठमाडौंको शोभा बढाउने भएका छन् । यो कम्पनीले चीनमा निर्माण भएका २५ वटा ठूला सार्वजनिक बस संचलनको योजना बनाएको छ ।

त्यसमध्ये ७ वटा बस तत्काल चलाउने योजना छ । २ वटा काठमाडौं आइसकेको र ५ वटा बस केही दिनमै ल्याउने कम्पनीको योजना रहेको बताइएको छ ।
पहिलो चरणमा काठमाडौंको चक्रपथ परिक्रममा गर्ने गरी यो कम्पनीले रुट प्राप्त गरेको छ । सबै बस यसै वर्ष भित्र काठमाडौं ल्याइसक्ने कम्पनीले उल्लेख गरेको छ ।

डेढ करोडभन्दा बढी मूल्यमा किनिएका एक बस संचलनमा भने डिजेल भन्दा निकै सस्तो पर्ने कम्पनीको दावि छ । नेपालको सडक विकसित मुलुकको जस्तो नभएका कारण यहाको सडकको अवस्थासँग मिल्ने गरी बनाइएका बस काठमाडौंमा गुड्ने भएका छन् ।

सुन्दरका बस ४० सिट क्षमतासम्मका रहेका छन् । त्यसो त चक्रपथ भित्रका सडकमा चलाउन सक्ने गरी साना बससमेत ल्याउन लागिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीसँग आफ्नै सुपर फास्ट चार्जिङ मेसिन ल्याएको छ । २ घन्टामा एउटा बस फूल चार्ज हुन्छ । यो बसले नेपालमै विदेशमा जस्तै प्रणालीको झल्को दिन खोजेको छ ।

भाडा भुक्तानी स्मार्ट कार्डबाट गराउने र नगद कारोबार नगर्ने तयारी छ । यात्रुले कार्ड राखेर आफ्नो तोकिएको भाडा भुक्तानी गर्न सक्ने गरी प्रणाली विकास गर्न लागिएको छ ।

सुन्दर यातायाताले संचलनमा ल्याएको चार्जिङ स्टेशनमा एकै पटक छ वटासम्म सवारी साधन चार्ज गर्न सकिन्छ ।

चक्रपथमा दैनिक गुड्ने डिजल गाडीले ४ हजार रुपैयाँसम्म इन्धन खपत गर्छ भने विद्युतीय सवारी साधनले मात्रै ७ सयको विद्युत् खपत गर्ने कम्पनीको दावि छ । जसले गर्दा संचलन खर्च निक सस्तो पर्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here