एनबीआईले ल्यायो वित्तीय साक्षरता एप, बैंकिङ कारोबारलाई प्रोत्साहित गर्ने

काठमाडौं, ७ फागुन । नेशनल बैंकिङ इन्स्टिच्युट (एनबीआई)ले आफ्नो स्थापनाको दशौं वार्षिकोत्सवको अवसरमा एनबीआई नामक मोबाईल एप सार्वजनिक गरेको छ ।

कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो डिजिटल उपकरण ल्याइएको बताइएको छ । सो एपमा वित्तीय साक्षरतासम्बन्धी जानकारीमूलक एवम् शैक्षिक सामग्री समावेश गरिएको छ जसमा वित्तीय साक्षरताको ज्ञान दिलाउने ई–किताव, सो किताव अध्ययन पश्चात परीक्षाको अवसर, बिभिन्न सफलताका कथा र वित्तीय साक्षरता सम्बन्धी गीत समावेश गरिएको छ ।

सम्पूर्ण नेपालीका लागि उपयोगी भए पनि खासगरी ग्रामिण क्षेत्रका बासिन्दालाई वित्तीय ज्ञान अभिवृद्धि गरी समस्त आर्थिक कारोबारलाई बैंक तथा वित्तीय संस्थामार्फत गराउन अभिप्रेरित गर्ने उद्धेश्यले यो वित्तीय साक्षरतासम्बन्धी मोवाईल एपको निर्माण गरिएको एनबीआईले बताएको छ ।

प्रविधिको उचित सदुपयोग गरी देशका बिभिन्न भागमा छरिएर रहेका बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुले आ–आफ्नो क्षेत्रमा वित्तीय साक्षरतासम्बन्धी ज्ञान एवम् जानकारी प्रवाह गर्न सक्ने गरी यो वित्तीय साक्षरतासम्बन्धी एपमा पावरप्वाईन्ट प्रस्तुतिकरण समेत समावेश गरिएको छ । यसले वित्तीय साक्षरतासम्बन्धी तालिम गर्न सहजता हुने विश्वास एनबीआईको छ । गैर बैंकिङ क्षेत्रमा छरिएर रहेका कोषहरुलाई बैंकिङ प्रणालीमा ल्याउने प्रयोजनको लागि यो एपको प्रयोग गरी ज्ञान प्रवाह गर्न सकिने र यसले समग्रमा वित्तीय जानकारी फैलाउन महत्वपूर्ण योगदान दिने कम्पनीको विश्वास छ ।

यो एप निःशुल्क रुपमा गुगल प्ले स्टोरबाट डाउनलोड गरी अफलाईन मोडमा पनि चलाउन सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here