औषधि पसलमा काठमाडौं महानगरको निगरानी, अनधिकृतलाई २९ गतेसम्मको अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र अवैधरूपमा चलिरहेका औषधि पसललाई सचेत गराएको छ ।

मेयर बालेन्द्र शाहले महानगरभित्र अनधिकृत रूपमा औषधि पसल सञ्चालन भइरहेको पाइएको उल्लेख गर्दै त्यस्ता औषधि पसललाई यही मंसिर २९ गतेभित्र आफ्ना अवैधानिक कार्य कानुनबमोजिम सच्याउन निर्देशन दिएका हुन् ।

‘काठमाडौँ महानगरपालिका भित्र सञ्चालनमा रहेका औषधी पसलहरूमा अनधिकृत व्यक्तिहरूबाट औषधी बिक्री वितरण भइरहेको, औषधी व्यवस्था विभागमा दर्ता नभएका औषधीसमेत बिक्री वितरण भइरहेको, चिकित्सकको प्रेस्किप्सनबिना औषधी बिक्री वितरण भइरहेको महानगरमा गुनासो आइरहेको छ’, मेयर शाहले सूचना जारी गर्दै भनेका छन्, ‘काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागबाट अनुगमन गर्दा समेत उल्लेख भएअनुसार भएको पाइएको छ, यसमा हामी गम्भीर छौँ। त्यसैले हामीले यही महिनाको २९ गतेभित्र माथि उल्लेखित सम्पूर्ण कार्यहरू कानुनबमोजिम गर्न यसै सूचनाद्वारा जानकारी गराउन चाहन्छौँ।’

सोबमोजिम सुधार नभए त्यस्ता औषधि पसल बन्द गराइने चेतावनी उनले दिएका छन्।

अनधिकृत रूपमा औषधि बिक्री वितरण भइरहेको पाइएमा महानगरपालिकाको स्वास्थ्य विभागमा उजुरी गर्न वा गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र (कल सेन्टर) को निःशुल्क टोल फ्रि नम्बर १६६००१०५५११ वा ११८० मा सम्पर्क गरी सूचना दिन मेयर शाहले महानगरवासीलाई अनुरोध पनि गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here