डेढ दशकपछि काठमाडौंमा ‘बिजुली बस’, भाडा २० प्रतिशत सस्तो

–जितेन्द्र खनाल

काठमाडौं, २३ भदौ । सुन्दर यातायात प्रालीले भित्र्याएका विद्युतीय बस सोमबारदेखि काठमाडौंको सडकमा गुड्न थालेका छन् ।

बसको भाडा पनि अन्य सार्वजनिक बस सेवा सञ्चालकको भन्दा २० प्रतिशत सस्तो रहेको छ ।

काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा भाडा न्युनतम १३ रुपैयाँ सात पैसा भएपनि सुन्दर यातायातमा भने ११ रुपैयाँ मात्रै लाग्ने कम्पनीले जानकारी दिएको छ ।

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले सोमबार बससेवा सञ्चालनको उद्घाटन गरे ।

बसको उद्घाटन गर्दै मन्त्री पोखरेलले कुनैपनि कामलाई सुरवात गर्नभन्दा निरन्तरता दिन गाह्रो हुने भएकाले नियमित सञ्चालनमा विशेष ध्यान दिन आग्रह गरे ।

‘कुनै पनि काम सुरु गर्न भन्दा पनि त्यसलाई निरन्तरता दिन चुनौती हुने हुनाले यसलाई ध्यान दिनुहोस्,’ उनले भने, ‘आवश्यक सबै सहयोग सरकारले गर्छ, तपार्इंहरुको काम नामजस्तै सुन्दर होस् ।

डेढ दशकपछि काठमाडौंमा ‘बिजुली बस’

केही वर्षयता नेपालमा कार, स्कुटर लगायतका विद्युतीय सवारी साधन धेरै संख्यामा गुड्न थालेका भएपनि बिजुलीबाट चल्ने बस भने सञ्चालन हुन सकेको थिएन ।

चिनियाँ सहयोगमा काठमाडौंमा सञ्चालित ट्रलीबसको सेवा बन्द भएको डेढ दशकपछि काठमाडौंको सडकमा बल्ल बिजुलीबाट चल्ने सार्वजनिक यातायात सञ्चालनमा आएको हो ।

कम्पनीले बससेवा सञ्चालनको लागि लामो समयदेखि प्रयास गरीरहेको र सञ्चालन गर्नेक्रममा विभिन्न झन्झट बेहोरेको बताएको छ ।

चीनबाट बिजुलीबाट चल्ने सातवटा बस ल्याइसकेको र पाँचवटा आउने क्रममा रहेको कम्पनीका अध्यक्ष भेषबहादुर थापाले बताए ।

कम्पनीले सञ्चालनमा ल्याएका बस अत्याधुनिक प्रविधि युक्त रहेको कम्पनीले दाबी गरेको छ । आरामदायी र फराकिलो सिट भएका बसमा एयरकण्डिसनर समेत छन् ।

विभिन्न सुविधायुक्त भएकाले बसको मुल्य महंगो भएको कम्पनीले बताएको छ । कम्पनीका अनुसार एउटा बसको मूल्य १ करोड ६२ लाख रुपैयाँ भन्दा बढी परेको छ ।

कम्पनीका अध्यक्ष थापाका अनुसार विद्युतीय बस सञ्चालनको सुन्दर यातायात प्रालीले ११ करोड रुपैयाँ लगानी गरेको छ । निकट भविष्यमै बससेवा थप गर्ने र त्यसको लागि चीनको एक कम्पनीले सघाउने प्रतिबद्धता व्यक्त गरेको पनि उनले बताए ।

उनका अनुसार चिनियाँ कम्पनी बिएकेले सुन्दर यातायातमा ७५ प्रतिशत सम्म लगानी गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

कस्ता छन् त ‘बिजुली बस’ ?

सोमबारदेखि काठमाडौंको चक्रपथ रुटमा चारवटा बसले सेवा दिनेछन् । यी बसहरु १०.५ मिटर र ८.५ मिटर लम्बाईका छन् भने सिट क्षमता ४० रहेको कम्पनीले बताएको छ ।

त्यस्तै कम्पनीका अनुसार विद्युतीय बसहरु चार्ज गर्नको लागि साधारण र सुपर चार्जर गरी दुई प्रकारका छन् ।

सुपर चार्जरबाट चार्ज गर्दा १ घण्टामा फुल चार्ज हुन्छ भने साधारण चार्जरबाट चार्ज गर्दा २ घण्टामा फुल चार्ज हुने अध्यक्ष थापाले बताए ।

‘एकपटक फुल चार्ज गरेपछि लगभग २ सय २८ किलोमिटर यात्रा गर्न सकिन्छ ।’ अध्यक्ष थापाले भने, ‘यो समय भनेको चक्रपथको ५ चक्कर लगाउन पुग्ने समय हो ।’

स्मार्ट कार्डबाटै तिर्न मिल्छ भाडा

सुन्दर यातायातको भाडा अन्य सार्वजनिक बस सेवा सञ्चालक कम्पनीहरुको भन्दा २० प्रतिशत कम रहेको छ ।

त्यस्तै विद्युतीय बसमा स्मार्ट कार्डबाटै भाडा तिर्न मिल्ने सुविधा जडान गरीएको छ ।

स्मार्ट कार्डबाट मात्रै भाडा लिने भनिएपनि केही मात्रामा सहज वातावरण नभएसम्म नगद पनि तिर्न सकिने व्यवस्था राखिएको कम्पनीले जनाएको छ ।

५० वटा बस पुर्याउने तयारी

अहिले सातवटा बस भित्र्याइसकेको सुन्दर यातायातका पाँच बस पनि आउने प्रक्रियामा रहेका छन् । त्यसबाहेक ३८ वटा बस थपेर निकट भविष्यमै ५० वटा बसबाट सेवा दिने कम्पनीको तयारी रहेको छ ।

काठमाडौं उपत्यका बाहिर प्रदेश नम्बर १ र ५ मा १०/१० वटा विद्युतीय बस सञ्चालनमा ल्याउने र यसका साथै तनहुँ—नारायणघाटमा पनि विद्युतीय बस सञ्चालनमा ल्याउने कम्पनीले बताएको छ ।

त्यस्तै अबको एक वर्षभित्र चक्रपथमा मात्रै २५ वटा विद्युतीय बस गुडाउने कम्पनीको तयारी रहेको छ ।

विद्युतीय बसमात्रै नभई विद्युतीय ट्याक्सी सेवा पनि सञ्चालन गर्ने कम्पनीले घोषणा गरेको छ । कम्पनीका अध्यक्ष थापाले ५० वटा विद्युतीय बस र ५०० वटा विद्युतीय ट्याक्सी सञ्चालन गर्ने कम्पनीको योजना रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here