जथाभाबी शतबीज नछर्न पशुपति विकास कोषको आग्रह, उपस्थित हुन नसक्नेका लागि विशेष व्यवस्था

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले बाला चतुर्दशी (शतबीजारोपण) मा पशुपतिनाथ मन्दिर परिसरमा जथाभाबी शतबीज नछर्न आग्रह गरेको छ ।

शुक्रवार सार्वजनिक सूचना निकालेर आउँदो सोमवार शतबीज छर्दा १३ बुँदे नियम पालना गर्न भक्तजनलाई अनुरोध गरेको हो । कोषले ढुङ्गा छापेको ठाउँमा शतबीज नछर्न र वृक्षरोपण गरेको ठाउँ र बिरुवाको संरक्षण गर्न र बालबालिकाको साथमा परिचयपत्र राख्न आग्रह गरेको छ ।

कोषका अनुसार कैलाश चौरमा पाल राखी बत्ती बाल्न पाइने छैन । तर शतबीज भने छर्न पाइने छ । बत्ती बाल्नका लागि कैलाशको फेदी, पशुपतिनाथ मन्दिर परिसर, पशुपति कोर क्षेत्र, हंशमण्डप, चाैरसहित बाग्मती नदीको खाली किनारामा व्यवस्था गरिएको छ ।

पितृको स्मृतिमा बत्ती बाल्ने भक्तजनका लागि निःशुल्क पालको व्यवस्था गरिदिएको पनि पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यो काममा नेपाली सेनाले पनि सहयोग गर्ने सूचनामा उल्लेख छ ।

आफैँ उपस्थित भई बत्ती बाल्न नसक्ने भक्तजनहरूका लागि दुई हजार एक सय रुपैयाँ शुल्क लिई कोषले नै बत्ती बाल्ने व्यवस्था मिलाएको छ । त्यस्ता भक्तजनहरूले पशुपतिको पश्चिम बाहिरी ढोकास्थित कोषको बिक्री कक्षमा शुल्क बुझाउनु पर्नेछ ।

कोषले कोही कसैले बत्ती बालेको स्थान र पालमा बसेको शुल्क मागेमा नदिन आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here