काठमाडौं । यूएईमा सुरु भएको यू- १९ एसिया कप अन्तर्गत पहिलो खेलमा नेपालले पाकिस्तानलाई १५३ रनको सामान्य लक्ष्य दिएको छ ।
पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४७.२ ओभरमा १५२ रनमा अलआउट भयो। नेपालका लागि उत्तम थापा मगरले अर्धशतक प्रहार गरे।
उनले ७० बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ५१ रन जोडे। दिपेश कँडेलले ३१ र अर्जुन कुमालले २१ रन बनाउँदा अरु खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
कप्तान देव खनाल १३ बल खेल्दा शून्यमा आउट भए भने राष्ट्रिय टिमका सशक्त खेलाडी गुल्सन झाले एक रन मात्र बनाउन सके। तिलक भण्डारीले ७, आकाश त्रिपाठीले ६, आकाश चन्दले ५ रन बनाउँदा सुवास भण्डारी ८ रनमा अविजित रहे। पाकिस्तानका जिसन खान एक्लैले ६ विकेट लिए ।























