धितोपत्र बोर्डलाई स्वार्थ समूह र विचौलियाको प्रभावबाट जोगाउन कर्मचारी संगठनको माग

काठमाडौं । नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनले बोर्डले आफ्ना विषयमा उठेका कुराहरुलाई खण्डन गर्न नसकेकोमा चिन्ता व्यक्ति गरेका छन् । संघले विज्ञप्ति जारी गर्दै बोर्ड र बोर्ड नेतृत्व बदनाम हुने गरी विभिन्न समाचारहरु आउँदा बोर्डबाट सो को स्पष्ट खण्डन हुन नसकेकोमा चिन्ता व्यक्त गरेका हुन् ।

धितोपत्रको सार्वजनिक निष्कासन तथा अनुमतिको सम्बन्धमा बारम्बार विवादास्पद समाचारहरु पढ्न र सुन्नु पर्दा मर्माहित भएको कर्मचारीहरुको गुनासो छ । बजार निरन्तर ओरालो लागेको तथा अर्थतन्त्रका अधिकांश सूचक सन्तोषजनक नरहेको विषम परिस्थितिमा बोर्ड एवं बोर्ड नेतृत्वप्रति व्यपारीक स्वार्थ समूह हावी भएको भन्ने खालका आरोपको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको संघले जनाएको छ ।

यसले बोर्डको स्थायी संयन्त्रको रुपमा रहेका कर्मचारीहरुमा भय र त्रासको वातावरण सृजना भएको महसुस गरेको उनीहरुले बताएका छन् । संबैधानिक अंग र विषयगत संसदीय समितिहरुबाट बारम्बार प्रश्न चिन्ह उठने गरी काम भएको भन्ने आरोपले समेत कार्यालय त्राहिमाम बनेको कर्मचारीको गुनासो छ।

बोर्डलाई व्यापारीक स्वार्थ समूह तथा तिनका विचौलियाहरुको प्रभावबाट जोगाउन र कर्मचारीको पेशागत हकहितको सुरक्षाको लागि उनीहरुले अपिल गरेका छन् । पूँजीबजार शुद्धिकरणको महाअभियान मार्फत सत्यतथ्य जाँचबुझ गरी बोर्डको गरिमा र स्वायत्तता कायम राख्नुपर्ने स्वतन्त्र कर्मचारी संगठनको भनाइ छ ।

धितोपत्र बोर्ड, धितोपत्र ऐनबाट स्थापित नेपालको पूँजीबजार तथा बस्तु विनिमय बजारको नियामक निकाय हो । बोर्ड एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्थाको रुपमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here