अर्थमन्त्रीको दाबी – ‘नेपालमै किन लगानी गर्ने भन्ने प्रश्नको जवाफ हामीसँग छ’

काठमाडौं । आगामी वैशाख ९ र १० गते काठमाडौंमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनबारे विकास साझेदारसँग छलफल भएको छ ।

आज अर्थमन्त्रालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी लगानी सम्मेलनका लागि नेपालले गर्नुपर्ने तयारीका सम्बन्धमा द्विपक्षीय र बहुपक्षीय दातृ निकायसँग सुझाव लिइएको हो ।लगानी सम्मेलनलाई कसरी प्रभावकारी र नतिजामुखी बनाउन सकिन्छ भन्नेबारे विकास साझेदारसँग छलफल भएको अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

विकास साझेदारका अनुभवका आधारमा दिइने सुझावलाई आत्मसात गर्दै कस्ता लक्ष्य र उद्देश्य लिनुपर्छ भन्नेबारेमा छलफल भएको उनले बताए ।

‘लगानीकर्ताले नेपालमा लगानीको वातावरणबारे के सोच्छन् र हामीले के कुरामा सुधार गर्नुपर्छ भन्नेमा लागिरहेका छौं,’ अर्थमन्त्री महतले भने, ‘अरु देशभन्दा नेपालमै किन लगानी गर्ने भनेर लगानीकर्ताले सोध्ने प्रश्नको जवाफ हामीसँग छ । नेपालमा धेरै माग छ आपूर्ति कम छ ।

त्यसकारण नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य हो ।‘ नेपालमा जलविद्युत्, पर्यटन, सूचनाप्रविधि, कृषिलगायतका क्षेत्रमा लगानीको सम्भावना रहेको उनको भनाइ थियो ।साना तथा मझौला उद्यममा पनि लगानी गर्न सकिने भन्दै अर्थमन्त्री महतले नेपालमा लगानीका लागि धेरै सम्भावनाका क्षेत्र रहेका जानकारी दिए ।

लगानीका क्षेत्रमा देखिएका समस्या हटाउन सरकारले गम्भीर भएर काम गरिरहेको उनले बताए ।‘सम्पत्ती शुद्धीकरणसँग सम्बन्धित कानुनका विधेयक संसद्बाट चाँडै पारित भएर आउँछन् । हामी लगानी सम्मेलन अगावै नेपालको सार्वभौम साख मूल्यांकन (कन्ट्री रेटिङ) को काम सक्छौं ।

सबै खालका समस्या र चुनौती हटाउन लागिपरेका छौं,’ विकास साझेदारसँगको छलफलमा अर्थमन्त्री महतले भने ।छलफलमा मुख्य सचिव डा बैकुण्ठ अर्यालले लगानीकर्ताले गर्ने प्रतिबद्धताअनुसारको लगानी प्राप्तिका लागि नीतिगत र प्रक्रियागत सुधार गरिरहेको जानकारी दिए ।

उनका अनुसार तेस्रो लगानी सम्मेलन आयोजना गर्नका लागि सरकारले आन्तरिक तयारी तीव्र पारेको छ । सम्मेलन आयोजना गर्नका लागि गठित निर्देशक र कार्यान्वयन समितिको बैठक बसिसकेको छ । सार्वजनिक–निजी साझेदारीमा नेपालमा लगानी गर्नका लागि के कस्ता कानुनी र प्रक्रियागत समस्या समाधान गर्न आवश्यक छ भन्नेबारे छलफल भएको जनाइएको छ ।

सम्मेलनका क्रममा सोकेसमा राखिने आयोजनाको पूर्वतयारीका विषयमा पनि छलफल भएको थियो ।अगामी वैशाख ९ र १० गते काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको लगानी सम्मेलन गर्ने सरकारको तयारी छ ।

सम्मेलन आयोजना गर्न अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति, मुख्य सचिवको संयोजकत्वमा कार्यान्वयन समिति र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव संयोजकत्वमा प्राविधिक समिति गठन गरिएको छ ।

लगानी सम्मेलनमा प्रस्तुत हुने आयोजनाको स्थिति विश्लेषण गरी परियोजनाको अवधारणा बनाउने, सम्मेलनमा प्रस्ताव गर्ने आकर्षक र भरपर्दो आयोजनाको विकास गर्ने, सम्मेलनमा गरिने विभिन्न समझदारीपत्र तथा सम्झौताको आवश्यक तयारी गर्नेलगायत कामका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव संयोजक रहने गरी विभिन्न विषयगत मन्त्रालयका सहसचिव सहितको प्राविधिक समिति बनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here