डलरको मूल्य उच्च विन्दुमा, निर्यात व्यापारलाई राहत,आयातमुखी देशलाई मूल्यवृद्धिको चाप

काठमाडौं, २८ मंसिर । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले विहीवारको लागि सार्वजनिक गरेको विनिमयदर अनुसार १ अमेरिकी डलरको विनिमय दर (बिक्री दर) १३३ रुपैयाँ ७५ पैसा पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यो हालसम्मकै उच्च मूल्य हो । त्यस्तै नेपाली रुपैयाँमा डलरको खरिद दर १३३ रुपैयाँ १५ पैसा रहेको छ ।

मंसिर १५ गते डलरको मूल्यले रेकर्ड बनाउँदै १३३.७४ रुपैयाँमा पुगेको थियो। बुधबार फेरि डलरको भाउ सोही रेकर्ड मूल्यमा आएको थियो।

डलरको मूल्य बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ। डलरको वृद्धिले निर्यात व्यापारलाई राहत मिल्ने छ। तर वस्तुको निर्यात सीमित भएकाले नेपालले विनिमय दरबाट हुने लाभ भने उठाउन गाह्रो छ।

नेपालले ठूलो मात्रामा आयात गर्ने भएकाले विदेशी मुद्रा तिरेर किन्नुपर्ने सामान तथा सेवाहरु महँगो पर्ने छ। महँगो डलरमा आयातित सामान भित्रिने हुनाले मूल्यवृद्धिमा यसको चाप देखिने छ।

बढ्दो पेट्रोलियम र डलरको मूल्यका कारण नेपाल थप महँगिने छ। डलरको मूल्यवृद्धिले जति नेपाललाई फाइदा छ त्योभन्दा बढी नोक्सान छ। आयातमा निर्भर अर्थतन्त्र भएका कारण डलरको मूल्य वृद्धिले नेपाली बजार प्रभावित हुन्छ। डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी पर्नेछ।

अब डलरको भाउ बढ्ने वा घट्ने भन्ने कच्चा तेलको मूल्यमा भर पर्ने विज्ञ बताउँछन् । पछिल्लो समय अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले मूल्यवृद्धि नियन्त्रणका लागि ब्याजदरमा निरन्तर वृद्धि गरेपछि डलर मजबुत बनेको हो । यसले विकासशील राष्ट्र तथा नेपाल जस्ता आयातमुखी अर्थतन्त्र भएका देशहरुको अर्थतन्त्रमा दबाब सिर्जना हुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here