काठमाडौं महानगरले सुरु गर्‍यो सफ्टवेयर डेभलपमेन्ट तालिम

काठमाडौं । काठमाडौं महानगरपालिकाले सफ्टवेयर डेभलपमेन्ट तालिम सुरु गरेको छ । चालू आर्थिक वर्षबाट कार्यान्वयनमा आएको ‘रोजगारी र आय वृद्धि काठमाडौँको समृद्धि’ कार्यक्रमअन्तर्गत ३४ विधामा १५ हजार युवालाई सीपमूलक तालिम दिने, तीमध्ये पाँच हजार व्यक्तिलाई रोजगार तथा स्वरोजगार बनाउने लक्ष्यसहित तालिम कार्यक्रम थालिएको हो ।

दुई महिने सफ्टवेयर डेभलपमेन्ट तालिमका लागि २४४ जनाले आवेदन दिएका थिए । उनीहरूमध्ये छानिएका ४० जनालाई दुई शिफ्टमा विभाजन गरेर तालिम आयोजना गरिएको छ ।

सफ्टवेयर विकास तालिम पाठ्यक्रमको उद्देश्य सहभागीलाई सफ्टवेयर विकास सम्बन्धी एकीकृत ज्ञान र सीप प्रदान गर्नु रहेकाे छ । १२५ घण्टे यो तालिममा ७५ घण्टा ‘अन द जब’ तालिममा आधारित हुनेछ । सिकाइको २० प्रतिशत सिद्धान्त र ८० प्रतिशत प्रयोगात्मक कक्षा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here