मेयर बालेनप्रति प्रचण्डको गुनासो-‘प्रधानमन्त्रीको सक्रियता राम्रो छ भन्न केले रोक्यो’ ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहप्रति गुनासो गरेका छन् ।

ललितपुर महानगरको स्थापना दिवसमा मेयर शाहले फोहोर व्यवस्थापन, काठमाडौंको खोला अतिक्रमणलगायको विषयमा संघीय सरकारबाट अपेक्षित सहयोग नपाएको गुनासो गरेका थिए ।

प्रचण्डले आफू बोल्ने क्रममा आफ्ना कुरा राख्ने तर जवाफ नसुनी हिँड्ने गरेको भन्दै प्रचण्डले बालेनसँग असन्तुष्टि जनाए । ‘बालेन जी हिँडिहाल्नुभयो । मलाई फेरि पहिला बोलेर हिँड्नीसँग पनि अलिअलि इरिटेसन हुन्छ’ उनले भने, ‘आफूले भन्ने कुरा जेजे भन्नु छ भनिहाल्नी अनि त्यसको जवाफ सुन्नका लागि बस्दै नबस्नी गर्न हुन्न । बस्नुपर्छ प्रमुख अतिथिले बोल्ने बेलासम्म ।’

प्रचण्डले भने, ‘उहाँलाई म भन्न चाहन्छु, बागमतीको हस्तक्षेप वा तीनकुने वा फोहोरको विषयमा अहिले प्रधानमन्त्रीको सक्रियता राम्रो छ भन्न केले रोकेको छ ?’

उनले आफूले गरेका सकारात्मक कामलाई सकारात्मक रुपमा नलिदिइएकोमा पनि प्रचण्डले गुनासो गरे । ‘मैले गरेका सकारात्मक कामलाई सकारात्मक सोच सहित रिकग्नाइज नगर्दिनु सकारात्मक सोचलाई प्रोत्साहन नदिनु हो,’ प्रचण्डले भने, ‘मैले त्यो पीडा पनि बेलाबेलामा महसुस गर्ने गरेको छु ।’

काठमाडौंको मेयर भएकाले उपत्यकाका ललितपुर र भक्तपुरसँग समन्वय गर्ने जिम्मेवारी बढी बालेनकै भएको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here