रुकुम पश्चिमका ४ हजार भूकम्प पीडितले पाए पहिलो किस्ताको रकम

रुकुम पश्चिम । गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा ४ हजार २८२ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् । आठबिसकोटमा सात हजार लाभग्राही रहेका थिए ।

लाभग्राहीको खातामा रु २५ हजारका दरले पहिलो किस्ताबापतको रकम जम्मा भएको छ । अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापत रु २५ हजारका दरले लाभग्राहीलाई रु १० करोड ७० लाख ५० हजार खातामा पठाएको आठबिसकोट नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिए ।

उनका अनुसार जिल्ला विपद् व्यवस्थापन कोषबाट भने सात हजार लाभग्राहीका लागि पहिलो किस्ताबापत रु १७ करोड ५० लाख रकम प्राप्त भएको छ । जिल्ला विपद् व्यवस्थापन कोषबाट प्राप्त भएको बाँकी रकम पनि लाभग्राहीको बैंकमा खाता सञ्चालन हुने बित्तिकै पठाइने शाहले जानकारी दिए ।

नगरपालिकामा अस्थायी आवास निर्माण गर्न नौ हजार नौ सय ६२ लाभग्राहीको सङ्ख्या यकिन भएको छ । जिल्ला विपद् व्यस्थापन कोषबाट पहिलो किस्ताबापत अझै २ हजार ९६२ लाभग्राहीको लागि रकम आउन बाँकी रहेको प्रशासकीय अधिकृत शाहले जानकारी दिए।

जिल्ला विपद् व्यवस्थापन कोषबाट स्थानीय जोखिम न्यूनीकरण कोषमा प्राप्त भएको रकम बैंक खाता सञ्चालन भएका लाभग्राहीलाई धमाधम रकम पठाउने काम भइरहेको नगरपालिकाले जनाएको छ । हालसम्म नगरपालिकामा २ हजार २४० अस्थायी आवास निर्माण सम्पन्न भइसकेको र बाँकी ३ हजार ६९० अस्थायी आवास निर्माणको चरणमा रहेको नगरपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here