ग्यास उद्योगी आन्दोलित माग पूरा नभए २८ गतेदेखि उद्योग ठप्प पार्ने

काठमाडौं, ८ फागुन । नेपाल एलपी ग्यास उद्योग संघले एलपी ग्यास नउठाउने, आयात गर्ने रिफाइनरीबाट ग्यास लोडिङ नगर्ने र उद्योगहरु बन्द गर्ने जस्ता संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

यही फागुन १६ गतेसम्म आफ्ना माग पूरा नभए १७ गतेदेखि विभिन्न विरोध तथा संघर्षका कार्यक्रम सञ्चालन गर्ने संघले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

हाम्रा माग पूरा भएनन भने हामीले १७ गतेदेखि एलपी ग्यासको पीडीओ खरीद नगर्ने, २२ गतेदेखि रिफाइनरीमा लोडिङ बन्द गर्ने, २५ गतेदेखि ग्यास बुलेट भन्सार नाकाबाट नछुटाउने र २८ गतेदेखि मुलुकभरका सम्पूर्ण एलपी ग्यास उद्योग पूर्णरुपमा बन्द गर्नेछौं, महासचिव दिवान चन्दले बताए ।

संघले प्रत्येक वर्ष ग्यास उद्योगी र विक्रेताको कमिशन र खर्च समायोजन गर्न माग गरेको छ । ‘ग्यास उद्योगहरुको यथार्थ सञ्चालन खर्च, ग्यास विक्रेता र वितरकहरुको कमिशन, स्थानीय ढुवानी भाडा, उद्योगको कार्यगत नोक्सानी, बीमा खर्च, उद्योगको मुनाफा तथा विक्रेता वितरकको लागतको उचित मुनाफाको लागि यस संघको प्रतिनिधिसमेत रहने गरी एक समिति गठन गरी त्यसको सिफारिस अनुसार कमिशन र खर्च तोक्नु पर्छ,’ चन्दले भने ।

त्यसैगरी, मुलुकमा ग्यास उद्योगको संख्या बढाउन नहुने भन्दै सरकारले दिएको इजाजत र अनुमति खारेज गर्नुपर्ने संघको माग छ ।

नेपाली व्यवसायीले किनेका ग्यास बुलेट तत्कालै सञ्चालन ल्याउने वातावरण मिलाउन भारतसँग कुटनीतिक पहल गर्न उसले माग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here