हुलाकी राजमार्ग : सडक बन्यो, पुल नबन्दा संचालनमा आउन सकेन

झापा । तराईको समृद्धिको आधार ठानिएको हुलाकी राजमार्गको झापा खण्डमा सडक बने पनि पुल निर्माण अझै अधुरो छ । अधुरा पुलको अवरोधका कारण राजमार्ग सञ्चालन हुन सकेको छैन ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले जनाए अनुसार राजमार्गको ४८ किलोमिटर खण्डमा १८ वडा पुल रहेका छन् । जसमध्ये पाँचवटा पुल लामो समयदेखि निर्माण सम्पन्न हुन सकेका छैनन् । ‘अब पाँचवटा पुलको काम पूरा हुन बाँकी छ,’ हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीका इन्जिनियर सञ्जय गौतमले भने, ‘यही आर्थिक वर्षभित्र सबै पुल बनाइसक्ने हाम्रो लक्ष्य छ ।’

उक्त राजमार्गको झापा खण्ड पूर्वमा भद्रपुर नगरपालिकाको झापाचोकबाट सुरु हुन्छ भने पश्चिमी सीमा गौरीगञ्जमा मोरङ जिल्लासँग जोडिन्छ । जिल्लाको सबैभन्दा ठूलो नदी कनकाईको लामो पुल निर्माणाधीन अवस्थामा छ । अर्को लामो पुल बिरिङको भने निर्माण सम्पन्न भइसकेको छ । सो पुलमा आवागमन सुरु भइसकेको छ ।

कनकाई, भुतेनी खोला, लेहेरा खोला, सानोमाई र रतुवामा पुलको निर्माण अधुरो छ । बाह्र वर्षअघि निर्माण सुरु भएको कनकाई पुल अधुरो हुनुमा निर्माणको जिम्मेवारी लिएका ठेकेदारको लापरबाही नै मुख्य कारण भएको गौतमले बताए ।

कनकाई पुलको ठेक्का सम्झौता १२ वर्षअघि २०६८ सालको असारमा भएको थियो । पटकपटक म्याद थप गर्दासमेत पुल निर्माण सम्पन्न हुन सकेन । अन्तिम पटक गत २०८० साल असार ३० गते कनकाई पुलको निर्माण सम्पन्न गर्ने सर्तमा सरकारले ठेकेदारलाई म्याद थपिदिएको थियो । तैपनि तोकिएको अवधिमा काम सम्पन्न हुन सकेन ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीका ई गौतमले कनकाईको भौतिक प्रगति ६० प्रतिशतमात्र रहेको जानकारी दिए। जबकि, आयोजनाको ९१ प्रतिशत रकम खर्च भइसकेको छ । २०७३ साल असार ३० गते ठेक्का सम्झौता भएका भुतेनी खोला, लेहेरा खोला र सानोमाईको निर्माण दुई वर्षअघि २०७९ सालको क्रमशः कात्तिक, पुस र फागुनमा सम्पन्न भइसक्नुपर्ने थियो ।

सानोमाई र भुतेनी खोलाको भौतिक प्रगति सन्तोषजनक रहे पनि लेहेरा खोलाको भौतिक प्रगति ६८ प्रतिशतमात्र छ । भुतेनीको भौतिक प्रगति ८४ प्रतिशत र सानोमाईको ९० प्रतिशत रहेको छ ।

विगतमा निर्माणको ठेक्का लिने निर्माण व्यवसायीले मोबिलाइजेसन रकम हत्याएर काम अघि नबढाउने समस्या थियो । रतुवा पुलको थप स्पान निर्माणको ठेक्का सम्झौता २०७९ साल पुस १८ गते भएको थियो । यसको भौतिक प्रगति ३० प्रतिशत र आर्थिक प्रगति २४ प्रतिशत रहेको ई गौतमले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here