पर्यटन इतिहासमै पहिलोपटक त्रिदेशीय एक्स्पो हुँदै, नेपाल-भारत र चीनको सहभागिता

काठमाडौं, २५ भदौ । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले भ्रमण वर्ष २०२० सचिवालय र नेपाल पर्यटन बोर्डको सहकार्यमा आगामी २१ देखि २४ फेब्रुअरी २०२० सम्म नेपाल इण्डिया चाइना एक्स्पो (नाईस) आयोजना गर्ने भएको छ ।

विश्व पर्यटन इतिहासमै पहिलो पटक तीन वटा मुलुक समावेश भई आयोजना गरिने नाईस सम्भवतः पहिलो पर्यटन मेला हुने र यस्तो मेलाले नेपालको पर्यटन विकासमा सहयोग गर्ने पाटा नेपालले दाबी गरेको छ ।

दक्षिण एशिया तथा विश्वकै दुई ठूला अर्थव्यवस्था एवम् बृहत पर्यटन स्रोतबजारहरुको बिचमा नेपालको अवस्थिति, ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधता एवम् प्राकृतिक सौन्दर्यता नेपाली पर्यटन क्षेत्रको प्रवद्र्धन, विकास र विस्तारका लागि महत्वपूर्ण आधार एवम् स्रोत मानिन्छ ।

चीन र भारतसंग यतिधेरै नजिक भएर पनि सन् २०१८ को तथ्याङ्क अनुसार चीनबाट वार्षिक १५० मिलियन पर्यटकले विश्व भ्रमण गर्ने गरेकोमा जम्मा ०.१ % प्रतिशतले र २५.८५ मिलियन भारतीय आउटबाउण्ड पर्यटकहरु मध्ये ०.७५% प्रतिशतले मात्र नेपाल भ्रमण गरेका छन् ।

त्रिदेशीय पर्यटन पर्वद्धनका निम्ति पहल नभएको सन्दर्भमा नाइस कार्यक्रमले तीनवटै मुलुकबीच पर्यटकीय सम्बन्धलाई विस्तार गर्दै तीन देश बीचको सम्बन्ध थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका निर्बाह गर्ने विश्वास लिएको पाटा नेपालले बताएको छ ।

नाइस कार्यक्रमले नेपाल सरकारले लिएको भ्रमण वर्ष २०२० को लक्ष्य प्राप्ति तथा सन् २०३० सम्ममा ५० लाख पर्यटक ल्याउने लक्ष्य प्राप्तिको लागि महत्वपूर्ण आधारशीला तयार पार्ने पाटा नेपालको दाबी छ ।

एक्स्पोमो २०० भन्दा बढि क्रेताहरु, १०० बिक्रेताहरु, चीन र भारतका ५० भन्दा बढि सञ्चारकर्मी, विज्ञ वक्ताहरु लगायत पर्यटनसँग सम्बद्ध स्थानीय संघसंस्था, सरकारी निकाय, सञ्चारकर्मी तथा सरोकारवाला गरी १००० भन्दा बढि सहभागिहरु तथा अतिथिहरुको सहभागि हुने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here