नेपाली सेनाको हेलिकप्टरमार्फत् गाउँ लगियो सुजन र वीरेन्द्रको शव

काठमाडौँ । ललितपुरको बालकुमारीमा इपीएस कोरिया शाखामा भाषा परीक्षाको आवेदन दिन पुगेका र प्रहरीबीच झडप हुँदा ज्यान गुमाएका दुई जनाको शव नेपाली सेनाको ‘स्काई ट्रक’ मा राखेर लगिएको छ ।

आज (मंगलबार) बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेनाको स्काई ट्रकमा राखेर लगिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए ।

गत शुक्रबार बालकुमारीमा झडप हुँदा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको ज्यान गएको थियो । सुजनको इमाडोलस्थित किष्ट अस्पतालमा मृत्यु भएको थियो । वीरेन्द्रको पाटन अस्पतालमा मृत्यु भएको थियो ।

दुबैको शवको पोष्टमर्टम पाटन अस्पतालमा गरिएको थियो । दुबैको शव मंगलबार बिहान काठमाडौंबाट सेनाको स्काई ट्रकमार्फत् सुर्खेत विमानस्थल लगिएको हो ।

त्यहाँबाट छुट्टाछुट्टै हेलिकप्टरमा राखेर घर पु-याइने एसपी कार्कीले जानकारी दिएका छन् । मृतक परिवारले विभिन्न माग राखेर आन्दोलन गर्दै आएको थियो । सरकारसँग सोमबार भएको छलफलमा चार बुँदे सहमति समेत भएको थियो ।

सरकारले मृतक दुबै जनाको शव सम्बन्धित जिल्लामा पठाइदिने सहमति गरेको थियो । मृतक परिवारलाई सरकारले १०–१० लाख रुपैयाँ दिने, त्यसबाहेक मृतक परिवारका सदस्य एक–एक जनालाई रोजगारी दिने पनि निर्णय भएको हो ।

सरकारले अतिरिक्त थप राहत उपलब्ध गराउन पहल गर्ने पनि दुई पक्षबीच सहमति भएको छ । दुबै मृतकलाई शहीद घोषणाका लागि पहल गर्ने र दुबै जनाको शव परिवारले बुझ्ने पनि सहमति भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here