विश्व अर्थव्यवस्थाको गति ३० वर्षयताकै न्यून दरले वृद्धि हुने, नेपालको भने औसतभन्दा माथि

काठमाडौं । विश्व बैँकको २०२४ को ‘ग्लोबल इकनोमिक प्रोस्पेक्ट्स’ रिपोर्टले विश्व अर्थव्यवस्थाको गति ३० वर्षयताकै सबैभन्दा न्यून दरले वृद्धि हुने प्रक्षेपण गरेको छ ।

जसमा केवल २.४ प्रतिशत जीडीपी वृद्धि हुने अनुमान गरिएको छ। विश्व अर्थ व्यवस्थाले विविध आर्थिक चुनौतीहरू र भू-राजनीतिक अनिश्चितताहरूकाबीच घट्दो आर्थिक वृद्धिको सामना गर्नुपर्ने देखिएको छ ।

रिपोर्टका अनुसार, विश्वव्यापी मन्दीको जोखिम कम भएको छ । अमेरिकी अर्थव्यवस्थाको शक्तिले महत्वपूर्ण भूमिका खेलेको छ। तथापि, अहिलेको अवस्था आगामी दिनहरुमा धेरै विकासशील देशहरूका लागि अन्धकारमय रहेको छ । जसमा प्रमुख कारकहरूमा न्युन वृद्धि, घट्दो निर्यात र दशककै सबैभन्दा कडा मौद्रिक नीतिहरू छन्।

विकासशील अर्थ व्यवस्थाहरूको वृद्धिदर केवल ३.९ प्रतिशत मात्र रहने अनुमान छ । जुन गत दशकको औसतभन्दा एक प्रतिशत अंक कम हो। निम्न आय भएका देशहरूको वृद्धि दर पनि निराशाजनक रहेको छ । जसमा केवल ५.५ प्रतिशत वृद्धि हुनेछ । जुन यसअघि अपेक्षा गरिएकोभन्दा कमजोर रहेको छ।

त्यसैगरी, चीनको अर्थतन्त्र यो वर्ष ४.५ प्रतिशतले विस्तार भएकोमा आगामी वर्ष ४.३ प्रतिशतले बढ्ने देखिएको छ । जापानी अर्थतन्त्र यस वर्ष ०.९ प्रतिशतले वृद्धि भएकोमा आगामी वर्ष ०.८ प्रतिशतले मात्र विस्तार हुने अनुमान गरिएको छ । रुसको अर्थतन्त्र यस वर्ष १.३ प्रतिशत र आगामी वर्ष ०.९ प्रतिशतले मात्र बढ्ने छ ।

विश्वको औसत वृद्धिदर भन्दा नेपालको राम्रो

सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर विश्व्को औसतभन्दा साम्रो हुने विश्व बैंकको प्रक्षेपण छ । यस वर्ष (आव २०८०/८१) मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने विश्व बैंकको अनुमान छ । यो विश्वको औसतभन्दा झन्डै डेढ प्रतिशत बढी हो ।

गत वर्ष सन् २०२३ (आव २०७९/८०)मा नेपालकको आर्थिक वृद्धिदर १.९ प्रतिशतमा मात्रै सीमित भएको थियो । आगामी आर्थिक वर्षमा भने नेपालको अर्थतन्त्रमा उल्लेख्य सुधार आउने अनुमान गरिएको छ । सन् २०२५ मा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण छ । दक्षिण एशियामा नेपालको आर्थिक वृद्धिदर पाँचौ स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here