काठमाडौं । विदेशी मुद्रा संचितिले हालसम्मकै उच्चको रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आवको मंसिरसम्म विदेशी मुद्रा संचिति १७ खर्ब ६७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ ।
यो अहिलेसम्मकै धेरै हो । यसअघि गत महिना (कात्तिक)मा राष्ट्रिय ढुकुटीमा १६ खर्ब ९६ अर्ब ७८ करोड रुपैयाँ संचित थियो ।
गत असारको तुलनामा असोजमा विदेशी मुद्रा संचिति १४.८ प्रतिशतले बढेको हो । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा नेपाल राष्ट्र बैंकमा १५ खर्ब ५६ अर्ब २५ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग २ खर्ब १० अर्ब ७९ करोड रुपैयाँ पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.६ प्रतिशत रहेको छ । यस्तै, अमेरिकी डलर संचिति १३ अर्ब ३१ करोड पुगेको छ । असार यता डलर संचिति १३.६ प्रतिशतले बढेको हो ।२०७९ असोजदेखि डलर संचितिमा लगातार सुधार आएको छ ।
मंसिरसम्मको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.१महिनाको वस्तु आयात र ११.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।